
धनुषामा एक युवतीको शव फेला परेको छ।
बुधबार दिउँसो ३ बजे धनुषाधाम नगरपालिका- ६ पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटर पर रहेको आँपको बगैंचामा एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार युवती अन्दाजी २५-२६ वर्षकी छन्। उनको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।
शवको टाउकोमा रगतले लत्पतिएको अवस्थामा फेला परेको थियो।
बुधबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो।
युवतीमाथि बलात्कारको पनि आशंका गरिएको छ। यद्यपि त्यसको पुष्टि पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
शवको पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।
