सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • के छ उच्च रक्तचाप, अल्जाइमर र पागलपनको सम्बन्ध !

के छ उच्च रक्तचाप, अल्जाइमर र पागलपनको सम्बन्ध !

  • मङ्लबार, अशोज २६, २०७८
के छ उच्च रक्तचाप, अल्जाइमर र पागलपनको सम्बन्ध !

काठमाडौँ — उच्च रक्तचाप भएका युवा तथा वयस्कमा थप रोगको जोखिम देखिएको छ । पछिल्लो एक अध्ययनअनुसार यस्तो हाइपर टेन्सन हुनेको मस्तिष्कको आकार सानो हुने तथा पागलपनको जोखिम बढी हुने हुन्छ ।

अध्ययनको निष्कर्षअनुसार ३५ देखि ४४ वर्षका हाइपर टेन्सन भएकाहरूको मस्तिष्क सानो हुने गर्छ । ‘अमेरिकन हर्ट एसोसिएसन’ को जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्ता मानिसमा सामान्य रक्तचाप भएकोमा भन्दा बढी समस्या देखिएको छ ।

फ्लोरिडास्थित युनिभर्सिटी अफ मियामी मिलर स्कुलका न्युरोलोजीका प्राध्यापक डा. जेम्स गाल्भिनका अनुसार ३५ वर्षभन्दा कम उमेरमा उच्च रक्तचाप नभए पनि मस्तिष्कको समस्या हुनसक्छ । यसो भएमा उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नसक्छ । यसमा रक्तचाप बढेमा पागलपनको सम्भावना बढी हुन्छ ।

उमेरले ५५ वर्षभन्दा बढी र उमेरमा हाइपर टेन्सन भएका ११ हजार ३९९ जनामा तथा त्यति नै संख्यामा उच्च रक्तचाप नभएकाहरूको एमआरआई गरेर अध्ययन गर्दा नयाँ तथ्य फेला परेको हो ।

यो उमेर समूहमा उच्च रक्तचाप हुनेमा अल्जाइमरलगायत पागलपनको जोखिम बढी हुनेगर्छ । पाँच लाख मानिसको स्वास्थ्यको डाटा राखेको बेलायतको ब्लो बैंकले यसको सूचना बाहिर ल्याएको हो । योभन्दा बढी उमेरको पनि डाटा तयार पार्दै यो अध्ययन अघि बढाइने भएको छ ।

युनिभर्सिटी अफ मेलबर्नका डा. मिङगुवाङका अनुसार ४५ देखि ६४ वर्ष उमेर समूहमा हाइपर टेन्सन हुने र यो नै पछि गएर पागलपनमा परिणत हुने जोखिम हुन्छ । उच्च रक्तचाप भएको कति वर्षपछि पागलपन देखिन थाल्छ भन्ने चाहिँ थप अध्ययनको विषय हो । हाइपर टेन्सन र उच्च रक्तचापको समस्या देखिए बेलैमा सावधानी अपनाएर पागलपन टार्न सकिने उनको निष्कर्ष छ ।

युनिभर्सिटी अफ केन्टुकी, कलेज अफ पब्लिक हेल्थकी डीन डोना आर्नेट सानो मस्तिष्कको मतलब त्यहाँ न्युरोनको कमी हुनु हो र जसका कारण एक अर्काको समन्वय हुन पाउँदैन भन्छिन् ।

उता गाल्भिनका अनुसार ठूलो मस्तिष्क हुनुको मतलब सबै काम राम्रोसँग हुनु हो । उनका अनुसार हाइपर टेन्सनले मस्तिष्कमा पुगेको रगतको बहावमा असर गर्छ र मस्तिष्कको संरचनामा पनि असर गर्नसक्छ । यसलाई सही समयमा उपचार नगरे यसले मस्तिष्कले गर्ने काममा नकारात्मक असर पर्छ ।

गाल्भिनले युवा अवस्थामा हाइपर टेन्सन भए उनीहरूले लामो समय यही समस्यामा बिताउनु पर्ने भएकाले पागलपनको सम्भावना बढी हुने बताएका छन् ।

आर्नेट पनि मस्तिष्क ब्रेनको आकार घट्ने समस्याबाट र पागलपनको समस्याबाट जोगिन बेलैमा हाइपर टेन्सनको उपचार गर्नुको विकल्प नभएको बताउँछन् । अमेरिकी एकेडेमी अफ न्युरोलोजीमा आबद्ध रहेका डा. ग्लेन फिनरी प्रशस्त अभ्यास गर्नु र सन्तुलित भोजन नै यसको सही उपचार भएको बताउँछन् ।

सन्तुलित भोजनमा अल्कोहलको मात्रा बढ्न नदिने तथा ब्लड सुगरमा ध्यान दिने कुरा नै प्रमुख मानिन्छ । गाल्भिनले उच्च कोलस्टेरोल घटाउने, मधुमेह र मोटोपना घटाउने तथा धूमपान घटाउने काम पनि पागलपनको जोखिम कम हुने बताएका छन् । फिनरी भने युवाहरूले पनि नियमित स्वास्थ्य परीक्षण गरेर आफूलाई अपडेट राख्न जरुरी ठान्छन् ।

आफ्नो सम्झने शक्ति र व्यवहारमा परिवर्तन आए तत्काल चिकित्सकको निगरानीमा रहनुपर्ने उनी बताउँछन् ।

उच्च रक्तचाप यस्तो गम्भीर समस्या हो कि यसको सही उपचार नभए कुनै पनि समय हृदयाघातको सम्भावना हुन्छ । यसको औषधिका कारण हृदयाघात र पागलपनको सम्भावना त कम गर्छ । उच्च रक्तचापको औषधि सेवन गर्दा उपयुक्त छनोट नभएमा अल्जाइमरको जोखिम बढ्ने कुरा धेरै वर्ष अघि जोन हाप्किन्स विश्वविद्यालयले गरेको एक रिसर्चमा उल्लेख गरिएको थियो ।

उच्च रक्तचापको कारण मस्तिष्कको नसामा आघात पुग्ने तथा यसले सोच्ने र विचार गर्ने क्षमतामा समस्या उत्पन्न हुन थाल्छ । जोन हाप्किन्स विश्वविद्यालयले सोही वर्ष गरेको अध्ययनअनुसार उच्च रक्तचाप भएकाहरूले औषधिको रूपमा पोटासियम स्पेरिङ ड्युरेटिक्सको प्रयोग गरे अल्जाइमरको जोखिमलाई ७५ प्रतिशतले घटाउन सकिन्छ ।

जोन हाप्किन्समा मेमोरी एन्ड अल्जाइमर ट्रिटमेन्ट सेन्टरका निर्देशक कन्सन्टाइन ल्युकेस एमडीले उच्च रक्तचाप भएका तथा अल्जाइमर नभएकाहरूले रक्तचापको उपचार गराएमा पागलपनको विकास हुने सम्भावना कम हुन्छ ।

यसगरी अल्जाइमरका कारण पागलपन देखिन सुरु गरेको छ भने एन्टी हाइपरटेन्सेसिभले यो बढ्नबाट रोक्न सक्छ ।

जोन हाप्किन्सको सो अध्ययनले पनि उच्च रक्तचापको औषधि सेवन गर्नुभन्दा पहिले नै स्वस्थ जीवनशैलीले यसलाई नियन्त्रणमा राख्नु सबैभन्दा उपयुक्त भएको जनाएको छ ।

पागलपनमध्यको ६० देखि ८० प्रतिशत कारण अल्जाइमर हो । यसैगरी मस्तिष्कमा हुने ‘माइक्रोस्कोपिक ब्लिडिङ’ र नसा रोकिनु पागलपनका सामान्य कारण मानिन्छ । थाइराइड र विभिन्न भिटामिनको कमीले गर्दा पनि पागलपन विकास हुन सक्छ ।

उच्च रक्तचाप भएकाका लागि जोखिमयुक्त फ्याट, रातो मासु, मिठाई र अन्य चिनीयुक्त पदार्थलाई खराब मानिएको छ । फलफूल र तरकारीलाई उपयुक्त मानिएको छ । साथै डेरी उत्पादनलाई पनि उपयुक्त मानिएको छ ।

पच्चीस जनाको क्लिनिकल ट्रायलबाट के पत्ता लागेको छ भने ११ पाउन्ड तौल घटाउँदा सिस्टोलिक ब्लड प्रेसर (माथिल्लो) ४ दशमलव ४ ले र डिस्टोलिक ब्लड प्रेसर (तल्लो) ३ दशमलव ६ ले घट्नेछ । बढी वजन भएकाहरूको हकमा के देखियो भने वजन घटाउँदा सोडियम नघटे पनि हाइपर टेन्सनको समस्या कम हुनेछ ।

पागलपनका धेरै प्रकारमध्ये एक अल्जाइमर रोग हो । पागलपनका धेरै प्रकारको हुन्छ । मेडिकल साइन्सले पागलपनबारे व्याख्या गर्दा मस्तिष्कका सेलहरूको आपसमा समन्वय नहुँदा स्मरण हराउने र यसका कारण सोच्ने, सम्झने, विचार गर्ने सवालमा आउने समस्यालाई नै पागलपन भनेको छ । मस्तिष्कमा आउने यसै परिवर्तनले नै मानिसको दैनिक जीवनयापनमा असर गर्ने गरेको छ ।

पागलपनमध्यको ६० देखि ८० प्रतिशत कारण अल्जाइमर हुने गरेको छ । यसैगरी मस्तिष्कमा हुने ‘माइक्रोस्कोपिक ब्लिडिङ’ र नसा रोकिनु पागलपनका सामान्य कारण मानिन्छ । थाइराइड र विभिन्न भिटामिनको कमीले गर्दा पनि पागलपन विकास हुन सक्छ ।

पागलपन एकै पटक डरलाग्दो रूपमा प्रस्तुत हुने हुँदैन । सुरुमा सामान्य कुराहरू बिर्संदै जाने हुन्छ । यसलाई बेवास्ता गरेमा पछि डरलाग्दो रूप पनि लिन सक्छ । अल्जाइमरको कारण र असर भने अझ डरलाग्दो छ ।

मस्तिष्कभित्र र बाहिर निश्चित प्रकारको एक प्रोटिन पैदा हुन्छ । यस प्रोटिनले सिक्ने र सम्झने कुराको केन्द्रको रूपमा रहेको मस्तिष्कको ‘हिप्पोक्याम्पस’ का सेलहरूलाई आक्रमण गर्छ । यसकारण अल्जाइमर भएको व्यक्तिको पहिलो लक्षण नै स्मरण हराउनु हो ।

यसरी पागलपनको विकास हुनका कारणहरूमा डिप्रेसन, औषधिको साइड इफेक्ट, मादक पदार्थ सेवन, थाइराइडको समस्या र भिटामिनको कमी मानिएको छ ।

पागलपनको एउटै निश्चित परीक्षण पनि हुँदैन । चिकित्सकले अल्जाइमर तथा पागलपनसँग सम्बन्धित अन्य समस्याको पहिचान मेडिकल हिस्ट्री, शारीरिक परीक्षण र प्रत्येक दिन सोच्ने तरिकामा आउने परिवर्तन हेरेर पत्ता लगाउने गरेका छन् ।

कतिपय अवस्थामा चिकित्सकका लागि पनि पागलपन पत्ता लगाए पनि यही खालको पागलपन हो भनेर पत्ता लगाउन कठिन हुन सक्छ । पागलपनबारे सबै कुरा पत्ता लगाउन र यसबारे विस्तृत बुझ्न त नसा रोग विशेषज्ञ र जेरिट्रसियनलाई भेट्न जरुरी हुन सक्छ ।

औषधिबिना उच्च रक्तचापको समस्या हटाउन खानपिनमा ध्यान दिनु र नियमित अभ्यास आवश्यक हुन्छ । साथै, खानामा सोडियमको मात्रा घटाउन जरुरी मानिएको छ । प्रायः बजारमा किनिने खाद्य सामग्री र प्याकिङका खाने कुराहरूमा सोडियमको मात्रा बढी हुने हुँदा यसलाई रोक्न पर्ने चिकित्सकको मत छ ।

धूमपान र मद्यपान त घातक हुने भइहाल्यो । उच्च रक्तचाप भएकाका लागि कफी पनि वर्जित मानिएको छ । तनाव नलिने र रक्तचाप नियमित परीक्षण गर्ने गरे नियन्त्रण गर्न सहज हुन्छ । –एजेन्सीहरूको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार