• होमपेज
  • समाज
  • साइनो दिवसको सार्थकता, आकर्षण र नवीकरण

साइनो दिवसको सार्थकता, आकर्षण र नवीकरण

  • मङ्लबार, साउन १९, २०७८
साइनो दिवसको सार्थकता, आकर्षण र नवीकरण
(लेखक-टंकप्रसाद पन्थ) — साइनो वाङ्मय प्रतिष्ठान नेपालको आयोजनामा तेस्रो साइनो दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम जुम प्रविधिको उपयोग गरी भव्य रूपमा सम्पन्न भयो । प्रतिष्ठानकी अध्यक्ष सीता सुवेदी पन्थीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठान बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा देवी नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिका रूपमा प्राडा ऋषिराम शर्मा, डा कृष्णप्रसाद पोखरेल, डा षडानन्द पौडेल, डा यदुनन्दन ढकाल, डा यज्ञश्वर निरौलालगायतका व्यक्तित्वहरू आमन्त्रित हुनुहुन्थ्यो । राष्ट्रगानसँगै आरम्भ भएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्ने काम प्रतिष्ठानका सदस्य डा शेखरकुमार श्रेष्ठले गर्नुभयो । यसपछि प्रमुख अतिथिले व्यानर वाचन गरी कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गर्दै भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । यससँगै साइनोको सैंद्धान्तिक पक्षमाथि प्रकाश पार्ने काम प्रतिष्ठानका सल्लाहकार केशव ज्ञवालीले गर्नुभयो । साइनोको उत्पत्ति, पृष्ठभूमि, संरचना, नामकरणका साथै यसको सौन्दर्य पक्षलाई झल्काउनुका साथै हालसम्म छ वटा कृतिहरू प्रकाशित भएको र दशभन्दा बढी भाषामा साइनोको सिर्जना भएको कुरा उहाँले उल्लेख गर्नुभयो । पंक्तिगत संरचनाले व्यक्त गर्ने फरक अर्थका साथै समष्टि संरचनाले व्यक्त गर्ने ध्वन्यार्थको प्रकृतिलाई झल्काई साइनो व्यङ्ग्यार्थप्रधान कविता रहेको कुरा पनि उहाँले प्रकाश पार्नुभयो । प्रतिष्ठानका महासचिव बालकुमार क्षेत्रीले साइनोको अभियानमा जोडिई यसको प्रकाशन, प्रसारण र विकासमा योगदान पु¥याउने विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम र तिनका सम्पादक प्रकाशकहरूलाई आभारसहित विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
 कार्यक्रमको एउटा पाटोका रूपमा साइनो वाचन कार्यक्रम रहेको थियो । यस अवसरमा नेपाली, संस्कृत, अङ्ग्रेजी हिन्दी, खासी, थारू, सल्यानी, अछामी आदि भाषामा रचिएका साइनोहरू वाचन गरिए । साइनोवाचन गर्ने स्रष्टाहरूमा नेपाल, भारत, अमेरिका आदि देशका स्रष्टाहरूको उत्सकतामय सहभागिता पाइयो । विविध भाषाका स्रष्टाहरूको उपस्थितिले कार्यक्रमा एक प्रकारको रौनकता नै थपेको अनुभव भयो । केशव ज्ञवाली,टंक पन्थ, प्रीति आत्रेय, सुरेन्द्र शाही, बालकुमार क्षेत्री, मेरी लिन ल्युज (अमेरिका), कमला भण्डारी, शिव खनाल, आर्त अकुलीन, शान्तिदीप, दीपा रेग्मी, बार्बरा इरन्थ्रिउ (अमेरिका), बन्दना सुदिस (भारत), श्रीकला विजयन (भारत), दिलिप सिंह इन्दिस (भारत), तोया चापागाई (अङ्ग्रेजी भाषाका साइनो) विष्णुपादुका, वावुराम न्यौपाने उत्स, छविलाल खड्का, चन्द्रावती अधिकारी, खेमलाल पोखरेललगायतले साइनो वाचन गर्नुभयो । गेयात्मक लय तथा मुक्त लयमा प्रस्तुत गरिएका साइनोहरू विविध विषय र भावमा केन्द्रित रहेको पाइयो ।
 कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित साइनो लेखन प्रतियोगिता र त्यसको नतिजा प्रकाशन रहेको थियो । खुला रूपमा आयोजना गरिएको उक्त प्रतियोगितामा जम्मा ८४ वटा साइनोहरूप्राप्त भएको र तिनलाई कोडिङ गरी मूल्याङ्कन समितिलाई बुझाइएको थियो । प्राप्त साइनोहरूलाई पाँच खण्डमा विभाजन गरी मूल्याङ्कन गरिएको कुरा मूल्याङ्कन समितिका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष खेमलाल पोखरेलले प्रकाश पार्नुभयो । मूल्याङ्कन समितिका सदस्यहरूमा प्रतिष्ठानका उपाध्यक्ष सुरेन्द्र शाही र कोषाध्यक्ष शान्तिदीप रहनुभएको थियो । उक्त प्रतियोगितामा वासुदेव ज्ञवाली प्रथम, विष्णु दाहाल द्वितीय, वलराम सुवेदी तृतीय र शिव खनाल र सीता पाण्डे मरासिनीले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । विजयी स्रष्टाहरूलाई जुमप्रविधिबाट सम्मानपत्र प्रदान गर्नुका साथै बधाई ज्ञापनसमेत गरिएको थियो ।
 कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष साइनोप्रतिको अवधारणा तथा शुभकाममना मन्तव्य रहेको थियो । समालोचक डा यदुनन्दन ढकालले साइनोका सम्बन्धमा आयोजकले प्रकाश पारेका विचारलाई सन्दर्भका रूपमा उल्लेख गरी कविता सरसर्ती वर्णन होइन, बिम्बात्मकता, प्रतीकात्मकता, व्यञ्जनात्मकता, व्यङ्ग्यार्थ जस्ता कुरालाई अनिवार्य रूपमा समेट्नुपर्छ भन्दै प्रज्ञाबाट प्रकाशन हुन लागेको कविताको इतिहाससम्बन्धी ग्रन्थमा साइनो कविताका विषयमा आफूले पनि सन्दर्भ उठान गरेको कुरा झल्काउनुभयो । कुनै विधा कालजयी बन्नका लागि सर्वस्वीकृत सहजता पनि चाहिने कुरामा उहाँले जोड दिनुभयो । विशिष्ट अतिथि डा यज्ञश्वर निरौलाले कविताको लघुतम उपविधाका रूपमा अन्य थुप्रै प्रयोगहरू अस्तित्वमा आएको र सबैले आफ्नो मात्र राम्रो ठान्ने प्रचलन रहेको अवस्थालाई उल्लेख गर्नुभयो । उहाँले विधाको संरचनागत प्रकृतिले नै रूपगत भिन्नताको किटान गर्ने कुरा गर्दै छन्द र लयको समुचित संयोजन भएमा भाषाविज्ञानले पनि स्वीकार्ने विचार व्यक्त गर्नुभयो । लयात्मकता, प्रतीकात्मकता, सघनता, गाम्भीर्यता, सूक्तिमयता जस्ता कुराहरूलाई ध्यान दिएमा साइनो लोकप्रिय बन्ने धारणाका साथमा यसलाई पुस्तागत हस्तान्तरण गराउने कुरामा पनि ख्यालगर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
अर्का अतिथि डा षडानन्द पौडेलले सात–आठ–नौ संरचनाका तीन पंक्ति वा एउटै पंक्ति हो यसमा स्पष्ट हुनुपर्ने धारण राख्नुभयो । सैद्धान्तिक पक्षको खोजी गरी साइनोलाई आफ्नै लयमा बाँध्न सकेमा राम्रो हुने धारणा उहाँले राख्नुभयो । पंक्तिगत संरचनामा खास मान्यता हुनुपर्ने, बिम्ब र व्यङ्ग्य दुवै पक्ष सशक्त हुनुपर्ने कुराका साथमा साइनोले छोटो समयमा व्याकपता पाएको कुरासमेत उहाँले स्पष्ट पार्नुभयो । अर्का विशिष्ट अतिथि डा कृष्णप्रसाद पोखरेलले नेपाली कविताको विकासमा साइनोले नयाँ आयाम थपेको कुरा उल्लेख गरी नेपाली, अङ्ग्रेजी, हिन्दी आदि भाषाहरूमा लोकप्रियता प्राप्त गरिसकेकोमा गौरव लागेको कुरा व्यक्त गर्नुभयो । कविताको सूक्ष्म विधामा विचारलाई खाँद्नुपर्ने भएकाले यस्ता संरचनाभित्र बाँधिएर कलम चलाउने कुरा गाह्रो रहेको विचारसमेत उहाँले राख्नुभयो । विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने साइनोलाई जीवन्त बनाउन भाषाविद् र छन्दविद् सबैसँग छलफल गरेर अगाडि बढ्नुपर्ने सुझाव उहाँको थियो । विशिष्ट अतिथि प्राडा ऋषिराम शर्माले साइनोको प्रभाव समाजमा फैलिइसकेकाले अब सैद्धान्तिक टेकाहरू निर्माण गर्नु आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो । बनोट, बुनोट, लय, साइनो शब्दसँग विधाको नातो, सात–आठ–नौ अक्षरमा निर्मित पंक्तिहरूको स्वतन्त्रता, सिङ्गो संरचनाको अर्थगत भाव, अनुप्रास योजना, श्रुतिमधुरता आदि कुराको सैद्धान्तिक पर्याधार निर्माण गरी अगाडि बढ्न सल्लाह दिनुभयो । विषयपक्ष, कलापक्ष, बिम्ब, प्रतीक, अलङ्कार, रस, ध्वनि आदि कुराको आवश्यक शर्त राख्नु पनि राम्रो हुने विचार उहाँले राख्नुभयो । साइनोले व्यक्त गर्ने नाता सम्बन्धको पक्ष, मानव र पशुपंक्षीका बीचको मेलमिलाप, नर–नारी, राजनीति, संस्कृति, चराचर जीवनजगतका बीचको साइनोलाई झल्काउनुका साथै विकृतिका विपक्षमा यसले व्यङ्ग्य कस्छ भन्नेसम्मका कुरालाई समेटी निश्चित सीमाको निर्धारण गर्दा यसमा कलात्मकता थपिने कुरा उहाँले सुझाउनुभयो ।
साइनोका जन्मदाता तथा प्रतिष्ठानका सल्लाहकार छायादत्त न्यौपाने ‘बगर’ ले विद्वान् समालोचकहरूबाट आएका उपयुक्त सल्लाहर सुझावहरूलाई ग्रहण गरी साइनोलाई परिष्कार गर्नुका साथै नयाँ पुस्तामा पनि यसलाई हस्तान्तरण गर्दै लैजाने योजना रहेको विचार व्यक्त गर्नुभयो । नेपाली मौलिकतामा उठेको साइनोप्रति आएका सकारात्मक प्रतिक्रियाले आफूलाई खुसीको अनुभूति भएको कुरा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा देवी नेपालले साइनोलाई विश्वव्यापीकरण गराउनमा भूमिका खेल्ने अग्रज स्रष्टा खेमलाल पोखरेलप्रति सम्मान व्यक्त गर्नुभयो । आफू हर्षले गदगद भएको सन्दर्भ उठाई यसलाई जन्माउने छायादत्त न्यौपाने सर कति खुसी हुनुभएको होला भन्ने धारणा राख्नुभयो । उहाँले छायादत्त न्यौपानेको उपनामा ‘बगर’को सार्थकतालाई झल्काई नयाँ पुस्ताका प्रतियोगी स्रष्टाहरू जोडिनु सुखद पाटो रहेको विचार व्यक्त गर्नुभयो । साइनोलगायतका धेरै कविताका रूपहरू प्रयोगमा आएको कुरा झल्काई जति उत्पत्ति हुन्छन् ती सबैलाई नेपाली भाषाका सम्पत्तिका रूपमा लिनुपर्ने कुरा उल्लेख गर्नुभयो । सात–आठ–नौ अक्षरका पृथक् तीन हरफमा उठान, उत्कर्ष र समापनको ढाँचामा आउन सक्ने कुराका साथमा सातको अर्थ सार्थकता, आथको अर्थ आकर्षण र नौ को तात्पर्य नवीनता रहेछ भन्दै अङ्ग्रेजीमा पनि साइनोको शाब्दिक अर्थलाई झल्काउनुभयो । सात–आठ र नौ अक्षरलाई जम्मा गर्दैमा साइनो नहुने, त्यसमा कवित्व र व्यञ्जना आउनुपर्ने धारणा उहाँले राख्नुभयो । सबल साइनो सूक्तिपूर्ण बनी विद्युतीय झट्का दिने खालको शक्ति लिएर आउनुपर्छ । यो कविताको उपविधा भएकाले उच्च कवित्वकला आउनुपर्छ, वाचन गर्दा नै यो साइनो हो भनेर स्पष्ट छुट्टिने खालको हुनुपर्छ भन्ने जस्ता उत्प्रेरक विचार प्रस्तुत गर्नुभयो । प्रवर्तन, प्रभाव, प्रयोग, प्रचार, प्रवर्धन, प्रसिद्ध र प्राप्ति गरी सात ‘प’का कुरामा विधागत स्थापनाको खोजी गरिने कुरा उहाँले स्पष्ट पार्नुभयो । यी कुराको निरन्तरता भएमा कुनै पनि विधा स्थापित हुने धारणा उहाँको थियो । साइनो नेपाली उपज भएकाले नेपाली बिम्बहरू अनिवार्य गर्ने कि ? साइनोमा मानवीय सम्बन्धका बिम्बहरू समेट्ने हो कि ? जस्ता आग्रहका साथमा आफ्नो मौलिकपनमा साइनोलाई हुर्काउनु आवश्यक रहेको कुरा अनि यसको संरक्षणका लागि आफू रहँदासम्म प्रज्ञाप्रतिष्ठानमा पनि सेतको भूमिका खेल्न तयार रहेको विचार पनि प्रकट गर्नुभयो । साइनोको सैद्धान्तिक आधार स्थापनामा आफूले पनि कलम चलाउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमकी सभापित सीता सुवेदी पन्थीले प्रमुख अतिथिलगायत विशिष्ट अतिथिका विचारहरू गुरुमन्त्रका रूपमा ग्रहणीय रहेको र यस्ता मननीय खुराकहरूले ऊर्जा प्राप्त भएको कुरा प्रस्तुत गरी कार्यक्रमलाई सफल तुल्याउन आउनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरी कार्यक्रमलाई समापन गर्नुभयो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव बालकुमार क्षेत्री र सचिव शेखर अर्यालले संयुक्त रूपमागर्नुभएको थियो ।  कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो, साइनोलाई स्वरूपगत संरचना र कलात्मक पक्षबाट विशिष्ट रूपमा उठाउनुपर्ने उत्प्रेरणा जागृत भयो । सम्पूर्णलाई हार्दिक आभारसहित धन्यवाद ।

चर्चामा

सम्बन्धित समाचार