• होमपेज
  • समाज
  • डडेल्धुुरामा बुवाको शव जलाएर फर्किएका छोरा पनि चितामा जले

डडेल्धुुरामा बुवाको शव जलाएर फर्किएका छोरा पनि चितामा जले

  • बिहिबार, असार १०, २०७८
डडेल्धुुरामा बुवाको शव जलाएर फर्किएका छोरा पनि चितामा जले

डडेल्धुरा — डडेल्धुरामा बुवाको शव जलाएर फर्किएका एक छोराको पनि त्यही दिन दाहसंस्कार भएको छ।  जिल्लाको आलितालमा गाउँपालिका–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको शव जलाएर फर्किएका उनका छाेरा शेरबहादुरको पनि मृत्यु भएको हो।

असार ८ गते मृत्यु भएका भक्तबहादुरको काजक्रिया गर्न भारत बस्दै आएका उनका कान्छा छोरा शेरबहादुर बुधबार गाउँ आएका थिए। शेरबहादुर गाउँ पुग्दा बुवाको चितामा आगो लागिसकेको थियो। शोकमा डुबेका उनी केही बेरसम्म कसैसँग बोलेका थिएनन्।  सामाजिक परम्पराअनुसार उनले आफ्नो बुबाको अन्तिम सस्ंकार गरे। अब उनको शरिरमा सामान्य सेतो कपडा मात्र रह्यो। तर दाहसंस्कारपछि घर फर्किंदा उनी बाटोमै ढलेका थिए।

हेर्दा रोगी र कमजोर देखिने शेरबहादुर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढलेको आफन्तहरुले बताएका छन्। समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडे।

७५ वर्षीय बुवा र ४५ वर्षीय छोरा दुवैको एकैदिन अन्तिम सस्ंकार भयो। त्यहाँका बुढापाकाहरू आफुले अहिलेसम्म यस्तो घटना कहिल्यै नदेखेको बताउँछन्।

रोका परिवारमा काजक्रिया गर्न आएका छोराको नै मृत्यु भएपछि अब कसरी परम्परा अनुसार काजक्रिया गर्ने भन्ने अन्याैलता भएको छ।

भारतको पिथौडागढमा मजदुरी काम गरेर दुई छोरा पढाइरहेका उनी पहिले देखिनै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोत बताउँछ।

आर्थिक अवस्था कमजोर भएका उनले उपचार गर्न नपाएको परिवारले बताएका छन्। अब भारतको पिथौडागढमा कक्षा १० मा पढ्दै आएका दुईवटै छोराको कसले स्याहार गर्ने भन्दै परिवार चिन्तामा  छ।

घटना सुनेपछि आलिताल गाउँपालिका– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार