• होमपेज
  • समाचार
  • भारतले उत्पादन गरेको कोरोनाविरुद्धको औषधिमाथि विज्ञले उठाए प्रश्न

भारतले उत्पादन गरेको कोरोनाविरुद्धको औषधिमाथि विज्ञले उठाए प्रश्न

  • बुधबार, बैशाख २९, २०७८
भारतले उत्पादन गरेको कोरोनाविरुद्धको औषधिमाथि विज्ञले उठाए प्रश्न

ड्रग कन्ट्रोलर जेनेरल अफ इन्डिया (डीसीजीआई) ले मध्यम तथा गम्भीर लक्षण देखिएका कोभिड–१९ का बिरामीहरुलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको भारतको डिफेन्स रिसर्च एन्ड डेभलप्मेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले उत्पादन गरेको औषधि चाँडै अस्पतालमा प्रगोग गर्न सुरु गरिँदैछ । तर, स्वतन्त्र विज्ञहरुले भने औषधिबारे उपलब्ध जानकारीका आधारमा कोभिडका बिरामीहरूमा औषधिको उपयोगिता स्थापित नभएको बताएका छन् ।

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति
​मानिसमाथि गरिएको प्रयोगमा यस औषधिको प्रदर्शनबारे प्रकाशित तथ्यांकको कमी, तेस्रो चरणको ट्रायलमा औषधि प्रयोग गर्दा र नगर्दाको फाइदाबीचको तुलनाबारेको मूल्याङ्कनमा अस्पष्टता र क्यान्सरविरुद्धको औषधिको रुपमा मान्यता नपाएको औषधिको इतिहास र यसले मानिसको स्वस्थ कोषिकाहरुलाई पुर्याउन सक्ने हानी आदि कारणहरूले विज्ञहरुले उक्त औषधिमाथि प्रश्न उठाएका हुन् ।

2-Deoxy-D-Glucose औषधिलाई क्यान्सरविरुद्धको औषधिको रुपमा व्यापक परीक्षण गरिएको थियो । तर, यो औषधि मान्यता प्राप्त गर्ने चरणभन्दा निकै टाढा रहेको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ । इन्स्टिच्यूट अफ न्युक्लियर मेडिसिन एन्ड एलाइड साइन्सेस (आईएनएमएएस), डीआरडीओको एउटा ल्याबले, डा. रेड्डीज ल्याबोरेटोरी (डीआरएल) सँगको सहकार्यमा यस औषधिलाई क्यान्सरको रेडिएसन थेरापीको प्रशंगमा अध्ययन गरिरहेको थियो । यो औषधिलाई ट्रायलका रुपमा परीक्षण गरिएको थियो भने सन् २०१४ मा सहकार्यको रुपमा डीआरएललाई दिएको आईएनएमएएसका एडिसनल डाइरेक्टर डा. सुधिर चन्दनाले जानकारी दिए ।

यो औषधिको आधारभूत संयन्त्र भनेको मानिसको कोषले ग्लुकोजलाई उर्जा निर्माणका लागि ‘ब्रेक डाउन’ गर्नु हो । यो दृष्टिकोणले क्यान्सर सेललाई मार्न सक्ने र सिद्धान्ततः भाइरस सेलमा काम गर्न सक्ने अनुमान गरिएको छ किनभने भाइरस पनि रेप्लिकेसन (आफ्नो अर्को कपी बनाउन) ग्लाकोलसिस (glycolysis​)मा भर पर्दछ ।

गत वर्ष हैदराबादको सेन्टर फर सेलुलर एन्ड मोलिकुलर बायोलोजीले ल्याबमा औषधिले भाइरसको कोषलाई मार्ने पाइएको बताएपछि यसलाई मानिसमा परीक्षण सुरु गरिएको थियो । डा. रेड्डीज ल्याबले दोस्रो चरणको परीक्षण र व्यवसायिक उत्पादनका लागि डीसीजीआईको सब्जेक्ट एक्सपर्ट कमिटी (एसईसी) सँग अनुमित मागेको थियो । यद्यपि, एसईसीले भने पर्याप्त स्याम्पल साइज र औषधिले कोभिडलाई निको पार्ने स्पष्ट पारिएको मापदण्डसहितको तेस्रो चरणको विस्तृत परीक्षण गर्न सिफारिस गरेको थियो ।

सन् २०२० को जुनमा दोस्रो चरणको परीक्षणका लागि एसईसीलाई पठाएको पत्रमा डीआरएलले औषधिले अझै अनुमति नपाएको र क्यान्सरविरुद्धको औषधिका रुपमा २१८ जनामा परीक्षण गरिएको जनाएको थियो ।

औषधिको सफलताबारे प्रेस वक्तव्य जारी गर्दै डीआरडीओले क्लिनिकल ट्रायलमा यो मोलिक्युलले अस्पतालमा भर्ती भएका बिरामीहरुलाई चाँडो निको हुन र अक्सिजनमाथिको निर्भरता कम गर्न मद्दत गरेको पाइएको जनाएको थियो । कोभिडका बिरामीमध्ये २–डीजी औषधि प्रयोग गरेका बिरामीहरुको चाँडो आरटी–पीसीआर नेगेटिभ आएको डीआरडीओको भनाइ थियो । तीन दिनभित्र वैकल्पिक अक्सिजनमाथिको निर्भरता ४२ प्रतिशतदेखि ३१ प्रतिशतमा झरेको बताइएको छ ।

केरलाको राजागिरी अस्पतालका डा. साइरियाक एबी फिलिप्सले औषधिका कारण मानिसको मस्तिष्कको कोषिकामा साइड इफेक्ट पुग्न सक्ने बताए । हालसम्म उपलब्ध जानकारीको आधारमा औषधिको सुरक्षाबारे प्रश्न उठाउने ठाउँ रहेको उनको भनाइ छ । प्रति दिन ६३ एमजी प्रति केजी दिँदा एउटा क्लिनिकल ट्रायलनमा क्यान्सरका बिरामीमा मुटुसम्बन्धी साइड इफेक्ट देखिएको थियो । २२० जनाको स्याम्पल साइज यो औषधि सुरक्षित छ भनेर प्रमाणित गर्न पर्याप्त नभएको उनको भनाइ छ ।

यता, डा. चन्दनाले औषधिबारे विस्तृत विवरण आगामी महिना प्रकाशित गर्ने तयारी गरिएको बताए । तेस्रो चरणको परीक्षण विभिन्न राज्यका २७ अस्पतालमा गरिएको र महामारीका कारण केही स्थानबाट तथ्यांक अझै अपलोड नगरिएको उनले बताए । यद्यपि, आवश्यक तथ्यांक डीसीजीआईलाई बुझाइसकिएको र सोही आधारमा आपत्कालिन प्रयोगको अनुमति दिइएको उनको भनाइ छ । उनले औषधि दिइएका बिरामीमा तुलनात्मकरुपमा सुधार भएको पाइएको र पूर्णरुपमा निको भएको पनि पाइएको बताए ।

चर्चामा

सम्बन्धित समाचार