
धनगढी–धनगढीमा अनसनरत डाक्टर गाेविन्द केसीले अनसन ताेडेका छन् । बाजुराकाे गाैमुल गाउँपालिका-२ घर भएका ४२ वर्षीय चक्र बहादुर धामीकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।
सोही अस्पतालमा बिरामी कुरुवा बसेका धामीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् । धामी ८ वर्षीय बिरामी सुदिप कोइरालाका भिनाजु हुन् । सहिद दशरथचन्द स्वास विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दकाे राजीनामाकाे मागबाट पछि हटेपछि सम्झाैता भएकाे हाे ।बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो ।
सहमति अनुसार, शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३ सय श्शयाको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने उल्लेख छ । गेटाको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने पनि सहमति भएको छ।
विश्वविद्यालयले ३०० शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी सम्पूर्ण व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमतिमा उल्लेख छ ।
विश्वविद्यालय सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनबाटै (तिन महिना भित्र) अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि सहमतिमा छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ मा भएको व्यवस्था बमोजिम नेपाल राज्यभित्र सञ्चालित चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमश: गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन् भन्ने प्रावधान कार्यान्वयन गर्ने सम्बन्धमा अध्ययन गरी छ महिना भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले एक उच्चस्तीय कार्यदल गठन गर्न नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्ने पनि सहमति भएको छ ।


