शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामा

बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामा

  • शुक्रबार, साउन ८, २०८३
सेयर गर्नुहोस् :
बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामा

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्यालाई कारण देखाउँदै शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन्। यो जानकारी राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको हो।

७६ वर्षीय शाहाबुद्दिनले अप्रिल २०२३ देखि सेरेमोनियल राष्ट्रपतिको पद सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरता पनि परेको थियो।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिमा शाहावुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणबाट मलाई अटोनोमिक न्युरोप्याथी नामक रोग लागेको पुष्टि भएको छ। यसका कारण कहिलेकाहीँ म केही क्षणका लागि चेतनाहीन हुने गर्छु।’

शाहाबुद्दिनको राजीनामासँगै, शेख हसिनाको योजनाबद्ध स्वदेश फर्किन अझै पाँच महिना बाँकी रहँदा, उच्च सरकारी पदमा उनका कुनै सहयोगी नरहने अवस्था बनेको छ ।

हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको छ भने २०२४ मा उनको सरकार ढाल्ने विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता जेल परेका छन् वा लुकेर बसेका छन्। विज्ञप्तिअनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

चर्चामा

सम्बन्धित समाचार