
टेक बहादुर बुढा—सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहमा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आगामी आर्थिक बर्षबाट प्रदेश सरकारले कृषि विकास बैंक, कार्पेट व्यवसायी संघ, कासा लगायतको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो ।
प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलाका उच्च पहाडी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम थालेको छ । सोही योजना अनुसार बाजुराका बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
बाजुरा जिल्ला भेडा बाख्रा पानल क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन तथा अनुगमनका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा, पूर्व अर्थमन्त्री नरेश शाही, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रदेश सचिव शंकर शाह लगायतको टोली बाजुरा पुगेको छ । बडीमालिका सहित जिल्लाका पूर्वी उत्तरी भेगका स्थानीय तहहरुमा कार्यक्रम सञ्चालन गर्न लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख शिद्धराज जैशीले बताए । शनिवार सदरमुकाम मार्तडीमा जिल्लामा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम गर्नका लागि सरोकारवालाहरुसँग छलफल समेत गरिएको छ ।
कार्यक्रममा प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले पहिलो चरणमा जिल्लाका चार पालिकालाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन हुने र बाकी स्थानीय तहमा अध्ययन पछि कार्यक्रम गरिने बताए । प्रदेश सरकार एक्लैले यस्ता कार्यक्रम गर्न नसकिने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर यो बर्ष प्रदेश सरकारले संघ सरकारसँग भेडा बाख्रा पालन कार्यक्रम माग गरिएको समेत जानकारी दिए । मन्त्री थापाले भने,“यो कार्यक्रम गर्न प्रदेश सरकार अर्थात हामी एक्लै मात्रै आएका छैनौ, उत्पादन, बजारीकरण र प्रशोधिकरणको कुरासँगै बोकेनौ भने हामी सफल हुदैन भनेर यसपटक यहाँ भएको उत्पादनलाई बजारसम्म पुगाएर प्रशोधनका लागि प्रदेश सरकार लगानी गर्न तयार छ।”
यस्तै बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व अर्थमन्त्री नरेशकुमार शाहीले चार पालिकामा भेडा बाख्रा पालन मार्फत यो क्षेत्रको ठूलो उपलब्धि दिन सक्छ भन्ने हिसाबले कार्यक्रम गर्ने प्रयास गरिएको बताए ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि विकास बैंकले विगत ५८ बर्षदेखि कृषकहरुलाई केन्द्रबिन्दुमा राखेर उनीहरुको जीवनस्तर उकास्न तथा आर्थिक समृद्धिका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । यो कार्यक्रम गर्न कृषकहरु मानसिक तथा भौतिक हिसाबले तयार भएनन् भने प्रभावकारी नहुने भन्दै सुरुमा स्थलगत अध्ययन तथा सरोकारवालाहरुका सुझाव सल्लाह लिन यहाँ आइपुगेको बताए । कृषि विकास बैंकले भेडा बाख्रा पालन कार्यक्रम गर्नका लागि लगानीसँगै प्राविधिक, व्यवसायीक तथा वित्तीय शिक्षा, अनुशासन प्रदान गर्न पनि तयार रहेको उल्लेख गरे ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराका प्रमुख सिद्धराज जैशीले भेडा बाख्राबाट मासु, ऊन, मल लगायतका दृष्टिले विशेष महत्व रहेको भन्दै उक्त कार्यक्रम सञ्चालन भए कृषकहरुको आयआर्जनको बाटो बन्ने विश्वास व्यक्त गरेका छन् ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले भेडा बाख्रा पालनका लागि विशेष गरी पूर्वी उत्तरी भेगका पालिकासहित बडीमालिका र गौमुलका केही वडाहरु उपयुक्त रहेको बताए । उक्त कार्यक्रम गर्नका लागि कृषक, सम्बन्धित पालिकाको नेतृत्वको प्रमुख इच्छा शक्ति र प्रतिवद्धता आवश्यक पर्ने भन्दै यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सामूहिक प्रतिवद्धता गरेर सञ्चालन गर्न सक्ने अवस्थामा जानु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा सहभागी कृषक तथा सरोकारवालाहरुले उक्त कार्यक्रम पहुँचका आधारमा नभएर वास्तविक उत्पादन गर्ने कृषकलाई प्राथमिकतामा राखेर सञ्चालन गर्नु पर्ने सुझाव राखेका छन् ।


