बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिवद्धता

सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिवद्धता

धनगढी घोषणापत्र जारी

  • आइतवार, बैशाख १३, २०८३
सेयर गर्नुहोस् :
सबै प्रकारका विभेद र गलत अभ्यासहरूविरुद्ध उभिने धार्मिक अगुवाको ऐतिहासिक प्रतिवद्धता

लक्ष्मीराज पाध्याय, धनगढी—सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लाका धार्मिक तथा अन्तरधार्मिक अगुवाहरूले समाजमा जरा गाडेर बसेका सबै प्रकारका विभेद गलत अभ्यासहरूविरुद्ध संगठित रूपमा उत्रिने ऐतिहासिक घोषणा गरेका छन् । धनगढीमा सम्पन्न दुईदिने विशेष कार्यशालापछि जारी गरिएको नौ बुँदे ‘धनगढी घोषणापत्र’मार्फत उनीहरूले महिनावारी विभेद, बालविवाह र लैङ्गिक हिंसा जस्ता गम्भीर सामाजिक समस्याहरूलाई आगामी एक वर्षभित्र उन्मूलन गर्ने संकल्प सार्वजनिक गरेका हुन् ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र गिफ्ट नेपाल, वाक नेपाल, सेववक नेपाल र लिक नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE Girls) परियोजनाकाे सहकार्यमा साे कार्यशाला गाेष्ठीकाे आयाेजना गरिएकाे जनाएकाे छ ।

‘किशाेर तथा किशाेरीहरूका लागि सहयाेगी तथा सुरक्षित वातवरण’ (SAFE Girls) अन्तर्गत आयोजित कार्यशालामा सहभागी अगुवाहरूले धर्म र संस्कृतिको नाममा भइरहेका विभेदकारी अभ्यासहरू अन्त्य गर्न धार्मिक शास्त्रहरूको सकारात्मक र वैज्ञानिक व्याख्या गर्ने प्रतिवद्धता जनाएका छन्। उनीहरूले महिनावारीलाई अशुद्धता होइन, प्राकृतिक र पवित्र जैविक प्रक्रिया भएको स्पष्ट पार्दै समुदायमा यसबारे व्यापक सचेतना फैलाउने बताएका छन्।

घोषणापत्रमा नेपालको राष्ट्रिय सभाले २०८१ चैत ८ गते पारित गरेको मर्यादित महिनावारी सम्बन्धी संकल्प प्रस्तावलाई मार्गदर्शक दस्तावेजका रूपमा स्वीकार गरिएको उल्लेख छ। सोही आधारमा महिलालाई महिनाभर समान व्यवहार गर्ने, महिनावारीका समयमा हुने विभेदलाई पूर्ण रूपमा अन्त्य गर्ने, तथा ‘मर्यादित महिनावारी मैत्री घर–टोल’ निर्माणमा अग्रसर हुने योजना अगुवाहरूले अघि सारेका छन् ।

बालविवाह उन्मूलनका लागि उनीहरूले विद्यमान कानुनी प्रावधानहरूको कडाइका साथ कार्यान्वयन गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष नपुगी गरिने विवाह गैरकानुनी हुने भएकाले त्यसलाई धार्मिक रूपमा समेत निषेध गरिएको घोषणा गरिएको छ। यस विषयमा गाउँस्तरसम्म पुगेर सचेतनामूलक अभियान सञ्चालन गरिने उनीहरूको भनाइ छ।

त्यस्तै, प्रविधिको दुरुपयोगबाट बढ्दै गएको लैङ्गिक हिंसाप्रति पनि घोषणापत्रले गम्भीर चासो व्यक्त गरेको छ। फेसबुक, म्यासेन्जर लगायत सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । धार्मिक अगुवाहरूले आफूलाई केवल पूजा–पाठ र धार्मिक विधिमा सीमित नराखी सामाजिक रूपान्तरणका संवाहकका रूपमा उभ्याउने दृढता व्यक्त गरेका छन्। आगामी एक वर्षसम्म आ–आफ्ना कार्यक्षेत्रमा रहेका आमा समूह, किशोरी समूह तथा धामी–झाँक्री समूहका नियमित बैठकहरूमा यी मुद्दाहरूलाई प्राथमिकताका साथ छलफल गराइनेछ। साथै, स्थानीय तहको नीति, योजना तथा बजेटमा मर्यादित महिनावारी र लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम समावेश गराउन पहल गरिने जनाइएको छ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा गुड नेभर्स इन्टरनेशनल नेपालसँगको सहकार्यमा वाक नेपाल, सेबक नेपाल, गिफ्‌ट नेपालको आयोजनामा सञ्चालित यस कार्यक्रमले किशोरी तथा युवतीका लागि सुरक्षित, सम्मानजनक र समान वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ । धार्मिक शास्त्रहरूको सकारात्मक व्याख्याका माध्यमबाट सामाजिक कुरीतिविरुद्ध उभिने अगुवाहरूको यो पहल सुदूरपश्चिममा सामाजिक सुधारको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । महिनावारीका अभियानता लेखक डा राधा पौडेल र पत्रकार गोविन्द खड्काले तालिमको सहजीकरण गरेका थिए। कार्यक्रममा स्थानीय सरकार प्रतिनीधि, २० भन्दा बढी धार्मिक अगुवा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार