बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बुढीगंगामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

बुढीगंगामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

सामुदायिक विद्यालयमा पाठ्यपुस्तक खरिद अन्योल

  • मङ्लबार, बैशाख ८, २०८३
सेयर गर्नुहोस् :
बुढीगंगामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

टेक बहादुर बुढा–बाजुराको बुढीगंगा नगरपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अभावमा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक काम ठप्प भएको छ ।

नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताएका छन् । नगर प्रमुख बानियाँले भने, “कार्तिकबाट करार कर्मचारीको पनि म्याद नथप्ने निर्णय गर्‍यौ, त्यस लगत्तै धेरै कर्मचारी अख्तियारको निलम्बनमा परे र त्यसैमा अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।” प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको जनाएको छ ।

चालू आर्थिक बर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा त्यहाँ प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावका कारण कामकाज प्रभावित भएको स्थानीयहरुले बताएका छन् । कर्मचारीहरूका अनुसार महत्वपूर्ण फाइल निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माणसम्बन्धी कामसमेत ठप्प भएका छन् ।

शैक्षिक सत्र शुरु भइसक्दा पनि सामुदायिक विद्यालयले पाठयपुस्तक खरिद गर्न सकेका छैनन् । पाठयपुस्तक खरिद बाफतको रकम नगरपालिकाले भुक्तानी नदिँदा समस्या भएको विद्यालयले जनाएका छन् । बिक्रेतालाई उदारोमा पाठयपुस्तक दिन भनेका छौ, नगरपालिकाले रकम नहाल्दा पाठयपुस्तक अन्योल भएको दुधिर आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला शाहले बताइन् ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । तर ऐडी भने चैत्रमा एक साता पनि नगरपालिकामा नबसेर फिर्ता भएका थिए । त्यसपछि उनी नफर्किएको नगरपालिकाले जनाएको छ ।

फेरि चैत्र तेस्रो साता मन्त्रालयले पुन बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा भोज बहादुर ऐडीलाई खटाए पनि हालसम्म हाजिर नभएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् । चार महिनादेखि अधिकृत नहुँदा कर्मचारीहरूले तलब पाएका छैनन् भने योजना सम्झौता लगायतका प्रशासनिक काम प्रभावित भएको उनले बताए । नगर प्रमुख बानियाँले दुर्गम भनेर धेरै कर्मचारी आउनै नमान्ने र आए पनि टिकाइ राख्न चुनौती रहेको बताए ।

त्यस्तै चार महिनादेखि अधिकृतविहीन नगरपालिकामा धेरै जसो शाखाका कर्मचारी निलम्बनमा हुँदा झन् समस्या भएकोे स्थानीयहरुले बताएका छन् । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीहरुविरुद्ध मुद्धा दर्ता गरेपछि पालिकामा कार्यरत ७ जना कर्मचारी निलम्बनमा परेका थिए ।

यस्तै महिनौसम्म नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी अभावमा पालिका र वडामा सेवा प्रवाह प्रभावित भएको छ भने केही स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि हारगुहार गरेपनि अहिले सम्म व्यवस्थापन नभएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार