
काठमाडौं--आशिफ शेखको कीर्तिमानी दोहोरो शतक प्रेरित एपीएफले मधेश प्रदेशलाई ७४ रनले हराएसँगै मधेशको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ भने सुदुरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ।
जितसँगै एपीएफले जय ट्रफीमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र आर्मीबीच भिडन्त हुनेछ।
एपीएफले दिएको ३ सय ९१ रनको कीर्तिमानी लक्ष्य पछाएको मधेशले ५० ओभरमा ८ विकेट गुमाएर ३१६ रनको सम्मानजनक योगफल बनाए पनि ७४ रनले पराजित हुन पुग्यो।
पिएम कपको इतिहासमा बिनाविभागीय टोलिले पहिलोपटक फाइनल खेल्ने भएको छ। पहिलो संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल नतिजाविहिन भएको थियो।
यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो।
चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो।
छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो।


