
बाजुरा—बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षा केन्द्रमै धमाधम जाँच्ने कार्य भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने नयाँ अभ्यास गरेसँगै यहाँ पनि कार्यान्वयनमा आएको हो ।
एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने योजनाअनु्सार ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू भएसँगै यस वर्षदेखि उत्तरपुस्तिका जाँच्नका लागि अन्य जिल्ला वा केन्द्रमा पठाउनुपर्ने झन्झटिलो परम्पराको अन्त्य भएको छ । यस बर्षको एसईईमा बाजुराबाट दुई हजार ४२६ जना विद्यार्थी सहभागी भएका छन् ।
बाजुराका १७ वटै परीक्षा केन्द्रमा एसईईको हालसम्म सञ्चालन भएका विषयहरुको परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख लाल बहादुर बिष्टले बताए । उनले माध्यमिक तहमा अध्यापनरत विषयगत शिक्षकहरुको बिदा रोकेर एसईईका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण भइरहेको बताएका छन् ।
यहीँ चैत १९ गतेदेखि सुरु भएको एसईईको पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन गणित र आज अर्थात सोमवार विज्ञान विषयको परीक्षा सकिएको छ ।
यस्तै जिल्ला परीक्षा समन्वय समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका सबै परीक्षा केन्द्रमै एसईईका उत्तरपुस्तिका परीक्षण कार्य धमाधम भइरहेको जानकारी दिए । बोर्डले नयाँ व्यवस्था गरेसँगै जिल्लामा पनि प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भन्दै उत्तरपुस्तिका परीक्षणमा कुुनै समस्या नरहेको स्पष्ट पारे । त्यस्तै हालसम्म अंग्रेजी र नेपाली विषयका उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएर तेस्रो दिन परीक्षा भएको गणित विषयका उत्तरपुस्तिका जाच्न सुरु गरिएको उनले बताए ।
नयाँ निर्देशिकाले उत्तरपुस्तिका परीक्षणको सम्पूर्ण जिम्मेवारी र अधिकारलाई विकेन्द्रीकृत गरेको छ । विगतमा परीक्षा सकिएपछि सबै उत्तरपुस्तिका संकलन गरेर प्रहरी कार्यालयमा बुझाउने, त्यहाँबाट समन्वय एकाइमा ल्याउने र त्यसपछि मात्रै बोर्डले तोकेको अर्को जिल्ला वा केन्द्रमा पठाउने गरिन्थ्यो । यो प्रक्रियाले गर्दा नतिजा आउन महिनौं लाग्ने र ढुवानीका क्रममा उत्तरपुस्तिका हराउने वा क्षति हुने जोखिम रहन्थ्यो । तर, नयाँ कार्यविधिले परीक्षा भएकै दिन दिउँसो १२ बजेदेखि नै उत्तरपुस्तिका जाँच्न सुरु गर्न सकिने बाटो खोलेको छ ।
हालै जारी भएको नयाँ निर्देशिकाले परीक्षणको गुणस्तर र गोपनीयता कायम राख्न कडा मापदण्डहरू समेत तोकेको छ । परीक्षा सञ्चालन भएकै विद्यालय वा केन्द्रलाई नै परीक्षण केन्द्र मानिएको र कार्यविधिअनुसार कुनै पनि विषयको परीक्षण कार्य सुरु भएको बढीमा तीन दिनभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । उत्तरपुस्तिका जाँच्नका लागि माध्यमिक तहमा अध्यापनरत अनुभवी शिक्षकलाई खटाइएको र कुनै पनि शिक्षकले आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका जाँच्न नपाउने नियम बनाइएको छ । यदि कुनै परीक्षकको नजिकको नातेदार सोही केन्द्रमा परीक्षार्थी भएमा, नैतिकताका आधारमा सो जानकारी गराई उत्तरपुस्तिका फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था समेत निर्देशिकामा छ ।
परीक्षण कार्य हुने कक्षमा सुरक्षालाई विशेष ध्यान दिँदै सम्भव भएसम्म सीसीटीभीको निगरानीमा काम गर्ने र परीक्षण कक्षभित्र मोबाइल फोन वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ । उत्तरपुस्तिका परीक्षण सकिएलगत्तै अंकहरूलाई सिलबन्दी गरी शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने प्रावधानले अब एसईईको नतिजा प्रदेश स्तरबाटै प्रकाशन गर्न सहज हुने देखिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल नियुक्त भएपछि एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिएका समेत थिए ।


