
बाजुरा, ११ चैत्र—बाजुराको मार्तडी–कोल्टी सडक खण्डको ढम्कने देखि कोल्टी सम्मको कालोपत्र काम अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रको काम अलपत्र रहेको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताएका छन् ।
काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवाले समयमै काम नगर्ने अर्कोतिर बर्षेनी बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले बताएको छ । गत आर्थिक बर्षमा यो सडकमा १५ करोड बजेट थियो, काम नगरेर १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो । यो आर्थिक बर्षमा २० करोड रकम भएपनि अहिले सम्म ठेकेदारले काम सुरु नगरेको कार्यालय प्रमुख थापाले बताएका छन् ।
यो आर्थिक बर्षमा ठेकेदारले काम नगर्दा फेरि करोडौ रकम फिर्ता हुने भएको छ । आर्थिक बर्ष २०७६।०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी असारमा सम्झौता भएको थियो । कम्पनीले ढम्कने देखि चुथी ६ किलोमिटर र चुथी देखि कोल्टीसम्म २६ किलोमिटर दुवै पिसको ठेक्का लगेको थियो । चुथी देखि ढम्कने सम्मको सडकको २०७७ पहिला नै सम्झौता भएको थियो ।
चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ को असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ बर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन बर्षमा काम नसकेपछि कार्यालयले फेरि पटकपटक म्याद थप गरेको थियो । म्याद थप गरे पनि यो आर्थिक बर्षको चैत लागिसक्दा पनि ठेकेदारले काम सुरु गरेको छैन्, काम नहुने भएपछि यो बर्ष पनि रकम फिर्ता हुने सम्भावना रहेको पुर्वाधार कार्यालय अछामले बताएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेन्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानिय शंकर बहादुर चदाराले बताएका छन् ।
काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बाँनियाको हो । उनी हाल बागमती प्रदेश सभाका मुख्यमन्त्री तथा बागमती प्रदेश नेपाली काँग्रेस सभापति हुन । उनी मकवानपुरबासी हुन् ।
मार्तडी कोल्टी सडकखण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुबर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड विनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथीसम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथी देखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । सम्पुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
मार्तडी देखि कोल्टीसम्म ४१ किलोमिटर बुढीनन्दा नगरपालिका २ कोल्टीगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबराको तीन पिसमा टेन्डर भएको थियो ।
कालोपत्रको ठेक्का हुनु पहिलो यो ४१ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी– कोल्टी सड्क निर्माण भएको २६ बर्षसम्म पनि पूरा हुन सकेको थिएन् । २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सडकको शिलान्यास गरेका थिए । शिलान्यासका बेला २०६० सम्म कोल्टीमा गाडी पुयाईसक्ने लक्ष्य राखेको थियो ।


