बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • महिला तथा बालिकामाथि बढ्दो हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

महिला तथा बालिकामाथि बढ्दो हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

  • आइतवार, चैत्र १, २०८२
सेयर गर्नुहोस् :
महिला तथा बालिकामाथि बढ्दो हिंसा रोक्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

बाजुरा—पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या घटनाप्रति चिन्ता व्यक्त गर्दै तत्काल रोक्न माग गर्दै नेपाल सरकारका गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । आइतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा पछिल्लो समय देशका विभिन्न स्थानमा महिला तथा बालिकामाथि हुने बलात्कार तथा हत्या घटनाले समाजको सुरक्षा संरचना र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। विशेषगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनमा १२ वर्षीया बालिकामाथि फागुन २७ गते भएको सामूहिक बलात्कार, भर्खरै सुर्खेतको वीरेन्द्रनगरमा १६ बर्षीय किशोरी इनिसा विकमाथि बलात्कारपछि हत्या गरिएको घटना लगायतका घटनाले महिलाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

त्यस्तै नेपाल प्रहरीको तथ्यांकअनुसार प्रत्येक दिन करिब सात जना महिला तथा बालिका बलात्कारको शिकार हुने गरेको भन्दै पछिल्ला पाँच वर्षमा आठ हजारभन्दा बढी बलात्कार र ३१ हजार बढी बलात्कार प्रयासका घटना दर्ता भएको तथ्यांक पनि पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, “यी तथ्यांकले न्याय प्राणाली र सुरक्षा निकायहरुलाई कमजोरी मात्रै नभई राज्यको निष्क्रियता र अपराधीलाई संरक्षण गर्ने दण्डहीनताको प्रवृत्तिलाई छर्लङग पारेको छ । जसले पीडित तथा प्रभावितको परिवा र समाजमा न्याय प्रतिको विश्वास थप कमजोर बनाएको छ ।” यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्य कुनै पनि प्रकारको संरक्षण नगरी मुलुकी अपराध संहितामा व्यवस्था भए अनुसार हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको स्थानीय महिला समूहकी अध्यक्ष दुर्गा थापाले बताइन् । यस्तै बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई कुनै पनि बाहनामा उन्मुक्ती नदिन माग गर्दै पीडित परिवारको सुरक्षा सुनिश्चित, न्यायमा सहज र सम्मानजनक पहुँच उपलब्ध गराउन समेत सरकार समक्ष माग गरिएको छ ।

महिला तथा बालिकाको जीवन, सुरक्षा र गरिमामाथि भइरहेका यस्ता जघन्य अपराधप्रति राज्यले गम्भीर र प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै अन्यथा नागरिक समाज र मानवअधिकारकर्मीहरू संगठित रुपमा आवाज उठाउन र सडकमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार