
बाजुरा—बाजुरामा एक हजारबढी मत बदर भएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ प्रत्यक्षतर्फको एक हजार ३४६ मत बदर भएको हो ।
आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा ८७ हजार ८६१ कुल मतदाता रहेकोमा ४५ हजार २४२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै कुल खसेको मतमध्ये ४३ हजार ८९६ सदर भएको छ ।
मतपत्रमा एक भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, औठा छाप लगाएको, मतपत्र च्यातिएको, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जनाएको छ ।
यस पटकको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसका जनक गिरीले एमालेका लाल बहादुर थापालाई ५४० मतान्तरले पराजित गर्दै विजयी भएका छन् । गिरीले १७ हजार १७३ मत पाउँदा थापाले १६ हजार ६३३ मत पाए भने रास्वपाका हेमराज थापाले ६ हजार ६५ मत ल्याउँदै तेस्रो स्थानमा सीमित रहे । त्यस्तै एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका प्रकाश शाहसहित पाँच जना उम्मेदवारको जमानत जफत भएको छ । शाह २०७४ सालको निर्वाचनमा बाजुरा प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित भएर सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री समेत भएका थिए ।
निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भए बमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ ।
त्यस्तै जिल्लामा प्रत्यक्षतर्फकाे मतगणना सकिएसँगै साेमबार बिहानबाट समानुपातिक तर्फकाे मतगणना भइरहेकाे छ ।


