सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • “ट्रक कि बस?”— नेपालको सार्वजनिक यातायात र यात्रुको पीडा

“ट्रक कि बस?”— नेपालको सार्वजनिक यातायात र यात्रुको पीडा

  • सोमवार, फाल्गुन ११, २०८२
“ट्रक कि बस?”— नेपालको सार्वजनिक यातायात र यात्रुको पीडा

आइतबारको दिन थियाे, घर बिदामा आएको समय। तर मनमा शान्ति थिएन। अर्को दिन अफिस पुग्नै पर्ने बाध्यता थियो। त्यसैले धनगढीबाट बाजुरा (मार्तडी) नगइ नहुने अवस्था बन्यो। यात्रा गर्न निस्किँदा मनमा सधैं आशा हुन्छ — सुरक्षित रूपमा गन्तव्य पुगिएला। तर हाम्रो सार्वजनिक यातायातको वास्तविकता भने त्यो आशाभन्दा धेरै फरक छ।
बसपार्कमा टिकटको अवस्था बुझ्न एक चिनेको भाइलाई फोन गरेँ। “प्याक छ दाइ,” भन्ने खबर आयो। केही बेरपछि फेरि फोन आयो — “स्टाफ सिट छ, जाने भए मिल्छ।” जानै पर्ने बाध्यता थियो, मैले तुरुन्तै “हुन्छ” भनिदिएँ। घरबाट ३:१० बजे हिँडेँ। बसपार्क पुगेँ। गाडी लोड हुँदै थियो। बसको छतमा भरिभराउ ‘व्यापारिक’ सामान — सायद कपडा पसलका बोरा। ग्यालरी त यात्रु बस्ने ठाउँ होइन, सामान राख्ने गोदामजस्तै बनाइएको थियो।
नजिकै उभिएका एक जनालाई सोधेँ, “यो ट्रक हो कि बस?” उनको सहज जवाफ आयो — “बस हो दाइ… पुलिसलाई ‘रुप्याँ’ दिएपछि बस पनि ट्रक बन्छ।” म स्तब्ध भएँ। नेपालमा जे पनि सम्भव छ भन्ने कुरा फेरि प्रमाणित भयो। यहाँ न प्रणाली छ, न प्रणालीले काम गर्छ। नियमभन्दा ‘बायाँ हात’ बलियो छ। टिकट लिएर एकछिन सोचें — मान्छेको जीवन कति सस्तो बनाइएको होला?

दिनहुँ दुर्घटनाका समाचारहरू आउँछन्। मृत्यु, अङ्गभङ्ग, परिवारको बिचल्ली। तर सार्वजनिक यातायातको अवस्था भने झन् भयावह छ। डर लाग्दालाग्दै पनि के गर्नु? जानै पर्यो। गन्तव्य पुग्नै थियो। टिकटमा बस छुट्ने समय ४:०० बजे लेखिएको थियो। ४ बज्यो। गाडी उभिएको उभियै। स्टाफलाई सोधेँ — “कतिबेला छुट्छ?” जवाफ आयो, मुखको मेघाश्री निल्दै — “अब एकछिनमै…” ५ बज्यो। ५:३० भयो। तर ४ बजेन। उफ्… पौने ६ बजे बल्ल गाडी स्टार्ट भयो।

सहचालक कराउन थाले —“बसौं, बसौं!” यात्रु खचाखच। ग्यालरीमा सामान। छतमा सामान। बस मान्छे बोक्ने साधन होइन, मालवाहक जस्तो।
गाडी अघि बढ्यो। अत्तरिया पुगेर फेरि एक घण्टा रोकियो। सायद “फुलीवाला दाइ” सँग कुरा मिलेन। के दिएर मिलाइयो — कसैलाई थाहा भएन। त्यसपछि गाडी अघि बढ्यो। गोदावरीको उकालो ठूलो संघर्षले चढ्यो। ट्रकभन्दा ढिलो। इन्जिनको आवाज — “घ्यार्र… घ्यार्र…”
यात्रुहरू मौन, चिन्तित, असुरक्षित।

यात्राभरि एउटा प्रश्न मनमा घुमिरह्यो: बाटोभरिका प्रहरी बिटहरूको काम के हो? ट्राफिक प्रहरीको भूमिका के हो? नियम कसका लागि बनेका हुन्? मानौँ, जनताको सुरक्षा गर्ने निकाय नै जनतालाई झुक्याइरहेका छन्। नेपालमा सार्वजनिक यातायात धेरै नागरिकका लागि एक मात्र विकल्प हो। तर जब त्यही साधन असुरक्षित, अव्यवस्थित र भ्रष्टाचारले ग्रस्त हुन्छ, तब यात्रुहरू जोखिम उठाउन बाध्य हुन्छन्। यो केवल एउटा यात्राको कथा होइन।

यो हजारौँ यात्रुको साझा पीडा हो। यो प्रणालीको असफलता हो। यो मौन रूपमा स्वीकारिएको जोखिम हो। हामी अझै पनि यात्रा गरिरहेका छौं — डर र बाध्यताबीच। किनकि गन्तव्य पुग्नु छ। जीवन चलाउनु छ। तर प्रश्न अझै बाँकी छ — हामी यात्रु हौँ कि जोखिम बोकेका वस्तु?

चर्चामा

सम्बन्धित समाचार