बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेको घोषणापत्र  : “आधा दशकमा सय खर्ब, एक दशकमा दुई सय खर्ब” को लक्ष्य

एमालेको घोषणापत्र  : “आधा दशकमा सय खर्ब, एक दशकमा दुई सय खर्ब” को लक्ष्य

  • बिहिबार, फाल्गुन ७, २०८२
एमालेको घोषणापत्र  : “आधा दशकमा सय खर्ब, एक दशकमा दुई सय खर्ब” को लक्ष्य

बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै समृद्धि, सुशासन र आत्मनिर्भर अर्थतन्त्र केन्द्रित विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा एमालेले “आधा दशकमा सय खर्ब र एक दशकमा दुई सय खर्बको अर्थतन्त्र” निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। आर्थिक विकासलाई तीव्र गतिमा अघि बढाउन उद्योग विस्तार, उत्पादन वृद्धिद्वारा राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कृषि र आत्मनिर्भरता

खेतीयोग्य जमिनमा कुलो तथा नहर विस्तार गरी बाह्रै महिना सिँचाइको व्यवस्था गर्ने, आधुनिक खेती प्रणाली लागू गर्ने र कृषि क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्ने योजना घोषणापत्रमा उल्लेख छ। खाद्यमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसमेत पार्टीले लिएको छ।

रोजगारी र श्रम

“मर्यादित श्रम : स्वदेशमै रोजगारी, स्वदेशमै काम” नारासहित युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता गरिएको छ। उत्पादनशील लगानी, सुदृढ वित्तीय प्रणाली र डिजिटल पूर्वाधारमार्फत रोजगारी अभिवृद्धि गर्ने योजना प्रस्तुत गरिएको छ।

पूर्वाधार र शहरी विकास

सुरक्षित यातायात, आधुनिक पूर्वाधार, स्वच्छ ऊर्जा र हरित विकासलाई प्राथमिकतामा राखिएको छ। सहरको स्वच्छता, पूर्ण पूर्वाधार र नागरिकमैत्री आवास निर्माण गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ।

शिक्षा, स्वास्थ्य र युवा

गुणस्तरीय शिक्षा, उन्नत प्रविधि र ज्ञानयुक्त नागरिक निर्माण गर्ने लक्ष्यका साथै स्वस्थ खाना, योग/व्यायाम प्रवर्द्धनमार्फत निरोगी नेपाल अभियान सञ्चालन गर्ने उल्लेख छ। युवाको सिर्जनशीलता र नवीन विचारलाई समाज रूपान्तरणको आधार बनाइने प्रतिबद्धता गरिएको छ।

सुशासन र पारदर्शिता

“सफा हात, स्वच्छ प्रशासन” को नारासहित गुणस्तरीय सेवा र जनप्रिय शासनको प्रतिबद्धता व्यक्त गरिएको छ। सहकारी क्षेत्रमा सुशासन र पारदर्शिता कायम गर्दै बचतकर्ताको हित सुनिश्चित गर्ने उल्लेख छ।

पर्यटन, ऊर्जा र अन्तर्राष्ट्रिय सम्बन्ध

पर्यटकको संख्या वृद्धि र लामो बसाइ प्रोत्साहन गर्ने, स्वच्छ ऊर्जा स्वदेशमै खपत गर्दै विदेश निर्यात गर्ने तथा सबैसँग मित्रता र कसैसँग शत्रुता नराख्ने परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

एमालेले “एमालेले बनाउँछ !” भन्ने नारासहित आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सुशासनमार्फत समुन्नत नेपाल निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

चर्चामा

सम्बन्धित समाचार