मङ्लबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • राजनीति
  • बाजुरामा प्रलोपाका उम्मेदवार डिसी एक्लै भोट माग्दै गाउँ–गाउँमा

बाजुरामा प्रलोपाका उम्मेदवार डिसी एक्लै भोट माग्दै गाउँ–गाउँमा

  • मङ्लबार, फाल्गुन ५, २०८२
बाजुरामा प्रलोपाका उम्मेदवार डिसी एक्लै भोट माग्दै गाउँ–गाउँमा

बाजुरा —आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै यतिखेर उम्मेदवार र नेताहरु भोट माग्दै गाउँमा चुनावी अभियानमा व्यस्त छन् । आ–आफ्‌ना चुनावी एजेण्डा र प्रतिबद्धता सुनाउँदै उम्मेदवारहरु मतदाता फकाउँदै आफ्‌नो पक्षमा महोल सिर्जना गरिरहेका छन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको बाजुरामा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जिल्लामा विगतका भन्दा फरक  सन्देशसहित उम्मेदवारहरु चुनावी अभियानलाई समेत सक्रियता पारेका छन् । अन्य उम्मेदवार र दलहरु नेता कार्यकर्ताहरुको बाक्लो सहभागीतामा तामझामका साथ मतदाताहरुविच पुग्ने गरे पनि यहाँका एक उम्मेदवार भने एक्लै भोट माग्दै चुनावी अभियानमा छन् । मोटरसाइकल चलाउँदै पिठ्युँमा झोला र हातमा पार्टीको झण्डा बोकेर बिना तामझाम एक्लै चुनावी प्रचारप्रसारमा व्यस्त छन् प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार दिपक डिसी ।

डिसी एक्लै जिल्लाका विभिन्न गाउँमा बिहानदेखि साँझसम्म मतदातालाई आफ्ना एजेण्डा सुनाउँदै डुलिरहेका हुन्छन् । उनले हालसम्म जिल्लाको दक्षिणी भेगका धेरेजसो पालिकाका प्रत्येक गाउँ–गाउँमा पुगेर मतदातासँग भेटघाट गरिसकेको बताए । उनी यतिखेर चुनावी प्रचारप्रसारका लागि पूर्वी उत्तरी भेग कोल्टी क्षेत्रका गाउँमा व्यस्त छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ का स्थायी बासिन्दा रहेका डिसी तत्कालीन नेकपा माओवादी केन्द्रमा सक्रिय थिए ।

तर माओवादी केन्द्रसहित दर्जन बढी पार्टीहरु मिलेर पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी बनेपछि डिसीले भने फरक बाटोको यात्रा तय गरे । नेकपा माओवादीमा हुँदा अखिल क्रान्तिकारीको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका डिसी संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष हुदैँ पार्टी प्रदेश कमिटी सदस्यसम्म पुगेका थिए । तर अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जिल्लामा प्रत्यक्षबाट उम्मेदवार बनेका छन् भने पार्टीका जिल्ला इन्चार्ज समेत हुन् ।

विगतदेखिका चुनावमा ठूला दल कांग्रेस–एमालेको आलोपालो हुदैँ आएको बाजुरामा यसपटक ८ जना उम्मेदवार छन् । उनीहरुको विरासत तोड्दै संसद छिर्ने पक्षमा डिसी सहितका उम्मेदवारहरु चुनावी मैदानमा छन् । तर कांग्रेस एमाले भने आफ्‌नो विरासत जोगाउन रणनीतिक रुपमा चुनाव जित्ने दाउमा रहेका छन् । प्रलोपा उम्मेदवार डिसीले आफू धेरै गाउँका मतदाताहरुसँग भेटघाट गर्दा उनीहरुले अब केही फरक र नयाँलाई नै राज्नु पर्ने अडान राखेको दावि गरेका छन् । उनले भने, “अहिलेसम्म म जिल्लाका धेरैजसो गाउँमा पुगे, मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गरे, उनीहरुले भन्ने गरेका छन्, यसपाली नयाँलाई नै रोजौं, क्षमतावान् र योग्य व्यक्तिलाई संसदमा पठाउ भन्छन् ।” डिसी मोटरसाइकलको यात्रामै भए पनि यतिखेर जिल्लाका प्रत्येक गाउँ–गाउँमा पुगेर आफ्‌ना एजेण्डा सुनाउने, जनताका दुःख पीडा र समस्या बुझी रहेको बताउँछन् ।

खर्चिलो प्रचारप्रसार र सभा गर्ने अवस्था नभए पनि प्रत्यक्ष जनतासँग भेटेर उनीहरुका कुरा सुन्ने र आफ्‌ना कुरा राख्नु नै महत्वपूर्ण रहेको बताए । उनले जिल्लाका ९ वटा पालिकामध्ये धेरैजसो पालिकाका हरेक गाउँ–गाउँमा घरदैलो अभियान सम्पन्न गरेर उत्तरी भेगका गाउँमा मतदाताहरुसँग भेटघाटमा रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार