
बाजुरा– नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन नभए देश ठूलो संकटमा जाने खतरा रहेको बताएका छन् । सोमबार बाजुरा सदरमुकाम मार्तडीमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले तोकिएको समयमा निर्वाचन सम्पन्न नगर्ने हो भने देशमा संवैधानिक जटिलता उत्पन्न हुने बताए । पाण्डे २०७९ को निर्वाचनमा बाजुराबाट निर्वाचित सांसद हुन भने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत हुन् ।
त्यस्तै नेता पाण्डेले फागुन २१ मा राष्ट्रपतिले कुशलतापूर्वक चुनाव तय गर्नु भएको छ, संविधानको एउटा धारा त कुल्चियो तर अब अर्को धारा कुल्चिएर संविधान जोखिमतिर नजानु पर्ने बताए । उनले भने, “माथिल्लो बुद्धिजीवी वर्गसँगै मतदाताहरुमा पनि देशमा कति चुनाव हुन्छ, कतिसम्म भोट हाल्ने, चनावी खर्च देशको अर्थतन्त्रले नधान्ने होकी होइन भन्ने खालको मनोदशा देखिएको छ यसको निराकरण गर्न पनि सञ्चारकर्मीहरुको महत्वपूर्ण हुन्छ ।”
यस्तै, पाण्डेले प्रतिनिधिसभा पुर्नःस्थापनाबाट फेरी द्धन्द्ध निम्तिने तथा देशले राजनीतिक र संवैधानिक निकास नपाउने होकी भनेर कांग्रेस त्यसको पक्षमा नलागेको स्पष्ट पारे । आफू निर्वाचित भए लगत्तै जिल्लाका सबै जनप्रतिनिधिहरु राखेर एकआपसमा सहकार्य गरेर लाग्नुपर्छ भनेर लागे पनि पटकपटक केन्द्रमा सरकार फेरबदल हुँदा केही समस्या भएको भन्दै विगतकाभन्दा त्यस समय जिल्लामा बढी बजेट आएको दावि गरेका छन् ।
पर्यटन मन्त्रालयमा निकै कम बजेट हुँदा पनि हरप्रयास गरेर पर्यटन विकासका लागि थुप्रै काम गरेको पनि पाण्डेले बताए । त्यस्तै उनले मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेका बटमटेन जिल्लाहरुलाई विशेष कार्यक्रम दिउ भनेर उच्च हिमाली पहाडी कार्यक्रम अहिले क्रमागत रहेको भन्दै त्यसबाट बाजुरा सहितका जिल्ला लाभान्वित भइरहेको बताए ।
त्यसैगरी, पाण्डेले आफू पर्यटनमन्त्री हुँदा आफ्नो क्षमताअनुसार थुप्रै कामहरु भएको भन्दै म असफल भए भनेर होइन, अरुलाई पालो दिनुपर्छ, नयाँ उर्जा र उत्साहका साथ परिवर्तन गर्नु पर्छ भनेर आफू आगामी चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेको बताए ।
