
काठमाडौं— नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले आसन्न निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । उनले देश परिवर्तित अवस्थामा कांग्रेसले अहिले जनताको विश्वास जितेर अगाडि बढिरहेको दावी समेत गरेका छन् ।
पार्टी कार्यालय सानेपामा आइतबार जसपा नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै उपसभापति शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरी नतिजा हात पार्ने बताए । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने जिकिर गरे । जेन–जी मुभमेन्टपछि सबै भन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको उनले दावी गरेका छ ।
शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेता–कार्यकर्ताहरू एक ढिक्का भएर लागेको र पार्टी नेता–कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको बताए । कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।
