
बाजुरा— आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्ला निर्वाचन क्षेत्र नं. “क” अन्तर्गतका चारवटै पालिकामा प्रभावकारी युवा परिचालन गर्ने उद्देश्यका साथ विशेष बैठक तथा कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुरा र अनेरास्ववियु जिल्ला कमिटी बाजुराको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा युवाशक्तिको भूमिकालाई सशक्त बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।
अनेरास्ववियु जिल्ला कमिटी बाजुराका अध्यक्ष भास्कर शाहीकाे अध्यक्षतामा कार्यक्रमको आयाेजना गरिएकाे थियो भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला सह–इन्चार्ज सुष्मिता कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख वक्ता पार्टीका केन्द्रीय कमिटी सदस्य सहदेव बोगटीले युवाहरूलाई निर्वाचन अभियानमा संगठित, अनुशासित र परिणाममुखी ढंगले परिचालन हुन आह्वान गरेका छन । त्यसैगरी विशिष्ट अतिथिका रूपमा केन्द्रीय कमिटी सदस्य नरेश रोकाया, सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पेम्बा गुरुङ भोटे, जिल्ला कमिटी उपाध्यक्ष जनक कुमार बोहरा तथा जिल्ला कमिटी सदस्य एवं प्रचार–प्रसार विभाग प्रमुख क. राजन कुमार रोकाया लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रम, युवा भेला, सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार तथा मतदान दिवससम्म प्रभावकारी समन्वय गर्ने रणनीतिबारे आवश्यक मार्गदर्शन प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण युवा साथीहरूलाई सक्रिय सहभागिता जनाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ। युवाशक्तिको एकता, सक्रियता र प्रतिबद्धताले आगामी निर्वाचनमा सकारात्मक परिणाम सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
