
काठमाडौँ —२०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा प्रकाशित पात्रो अनुसार २०८३ सालमा मनाइने प्रमुख चाडपर्वको तिथि र मितिको बारेमा यहाँ चर्चा गरिएको छ ।
२०८३ साल वैशाख ४ गते शुक्रबार मातातीर्थमा गएर स्नान गरिन्छ र यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । ७ गते सोमबार अक्षय तृतीया परेको छ भने यसै दिनदेखि त्रेतायुग सुरु भएको मानिन्छ । वैशाख १८ गते शुक्रबार गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व परेको छ ।
आषाढ ११ गते बिहीबार निर्जला एकादशी व्रत, यस दिन तुलसीको दल राखिन्छ ।
साउन १ गते श्रावण सङ्क्रान्ति, लुतो फाल्ने दिनको रूपमा मनाइन्छ । साउन ९ गते शनिवार हरिशयनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको बिरुवा रोपिन्छ । यसै दिनबाट चतुर्मास व्रत सुरु हुनेछ । साउन १३ गते बुधबार गुरुपूर्णिमा परेको छ, यस दिन हामी शिक्षा दिने गुरुहरूको सम्झनामा व्यास जयन्ती मनाइन्छ । साउन २८ गते बिहीबार गुँला धर्म आरम्भ हुनेछ ।
भदौ १ गते सोमबार नागपञ्चमी परेको छ भने भदौ १२ गते शुक्रबार रक्षाबन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा मनाइन्छ । त्यस्तै भदौ १३ गते शनिवार गाईजात्रा, १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी व्रत, जसलाई मोहरात्री पनि भनिन्छ । भदौ २६ गते शुक्रबार कुशे औँसी परेको छ, जुन दिन हामी बुवाको मुख हेर्ने दिनको रूपमा मनाउँछौँ । २७ गते शनिवार गुँला धर्म समाप्ति हुनेछ । भदौ २८ गते दर खाने दिन परेको छ । २९ गते सोमबार हरितालिका तीज व्रत परेको छ । भदौ ३० गते मंगलबार ऋषिपञ्चमी व्रत रहेको छ ।
असोज १ गते विश्वकर्मा पूजा, ९ गते शुक्रबार चतुर्दशी व्रत तथा कुमारी इन्द्रजात्रा परेको छ । असोज ११ गते आइतबारबाट सोह्रश्राद्ध सुरु भई असोज २४ गते शनिवार औँसी श्राद्ध गरिसकेपछि पितृ विसर्जन गरिनेछ । सोह्रश्राद्धमा दिवंगत भएका पितृहरूको सम्झनास्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गरिनेछ ।
असोज २५ गते आइतबारबाट विधिवत् रूपमा दसैँ सुरु हुनेछ । २५ गते घटस्थापना स्थापना गरिन्छ भने यही दिनबाट नवरात्र आरम्भ हुनेछ । असोज ३१ गते शनिवार फूलपाती पर्व मनाइन्छ । कार्तिक १ गते आइतबार महाअष्टमी पर्व मनाइन्छ । यस दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ । ३ गते मंगलबार महानवमी र ४ गते बुधबार विजयादशमी अर्थात् मान्यजनबाट दशैंको टीका लगाइसकेपछि देवी विसर्जन गरिन्छ । ८ गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । कार्तिक ९ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
कार्तिक २० गते शुक्रबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २० गते प्रदोष व्रत, धन्तेरस, धनत्रयोदशी, यमदीपदान मनाइन्छ । २१ गते शनिवार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइन्छ । २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा मनाइन्छ र यही दिनलाई सुखरात्री पनि भनिन्छ । २३ गते सोमबार गाई पूजा गरिन्छ । २४ गते मंगलबार गोवर्धन पूजा, म्ह पूजा मनाइन्छ र यही दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ । २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका लगाइन्छ । २९ गते आइतबार डाला पर्व र षष्ठी पर्व मनाइन्छ ।
मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशी व्रत परेको छ । यस दिन तुलसीको विवाह गरिन्छ । ८ गते मंगलबार पूर्णिमा व्रत, कार्तिक स्नान र चतुर्मास व्रत समाप्ति हुनेछ । मंसिर २१ गते सोमबार बालाचतुर्दशी परेको छ । यस दिन दिवंगत भएका आफन्तको नाममा धार्मिक स्थलहरूमा सतबीज छर्ने परम्परा रहेको छ । २८ गते सोमबार विवाह पञ्चमी, यस दिन जनकपुरमा सीता–रामको विवाह गर्ने परम्परा रहेको छ ।
पुस ९ गते बिहीबार धान्यपूर्णिमा, धान्यपर्वतदान तथा उधौली पर्व मनाइन्छ । माघ १ गते माघे सङ्क्रान्ति, माघी पर्व मनाइन्छ भने यही दिनबाट उत्तरायण सुरु हुनेछ । माघ ८ गते शुक्रबार पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु र माघ स्नान आरम्भ हुनेछ । माघ २४ गते आइतबार सोनाम ल्होसार, माघ २८ गते बिहीबार वसन्त पञ्चमी (श्रीपञ्चमी) परेको छ । यस दिन सरस्वती माताको पूजा गरी शिक्षा प्राप्तिको कामना गरिन्छ ।
फाल्गुन ८ गते शनिवार माघ स्नान समाप्ति र एक महिना लामो श्रीस्वस्थानी व्रत पनि समापन गरिन्छ । फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार परेको छ ।
चैत्र ७ गते आइतबार फागु पूर्णिमा पहाडी जिल्लामा होली र ८ गते सोमबार तराईमा होली खेली मनाइन्छ । चैत्र २३ गते मंगलबार घोडेजात्रा पर्व मनाइन्छ ।
