शुक्रबार, फाल्गुन १, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • बानादेव देवताको कथा

बानादेव देवताको कथा

  • शुक्रबार, फाल्गुन १, २०८२
बानादेव देवताको कथा

विक्रम संवत १६०० सालको कुरा हो। नेपालमा विभिन्न राज्यहरू फैलिएका थिए। तीमध्ये कर्णाली राज्यको सिँजा राज्य पनि आफ्नो समयको शक्तिशाली र प्रसिद्ध राज्य थियो। राज्य संचालनका क्रममा एक दिन राजसभामा बैठक चलिरहेको थियो। सभा हलमा उपस्थित सदस्यहरू गम्भीर मुद्रा लिएर ऐतिहासिक निर्णयहरूमा विचार गरिरहेका थिए। तर त्यही क्रममा एक जना मानिस अचानक हास्यो।

सभामा उपस्थित सबै सदस्यहरू रिसाए र सोधे, “यहाँ बैठक भइरहेको बेला किन हास्नु भयो?”
मानिसले शान्त स्वरमा जबाफ दिए।, “मैले काठमाडौंको रोधि घरमा रानीको फरीया खसेको देखेर हासेको हुँ।”
राज सभामा सदस्यहरूले अचम्म माने। “तिमी त यहाँ जुम्लामा छौ। काठमाडौंको घटना तिमीले कसरी देख्यौ?” प्रहरीहरु अनुसन्धानमा जुटे।

त्यो मानिसलाई हत्कडी लगाएर थुनामा राख्ने तयारी भयो। उनको सत्यता पत्ता लगाउन जुम्लाबाट दुई जना प्रहरी साथमा लिएर काठमाडौं तर्फ प्रस्थान गरे। बाटोमा एउटा ठूलो नदी आयो। नदी पार गर्ने क्रममा प्रहरीहरु पुल भाचिएर नदिमा खसे। त्यो मानिसको बाउला मात्र भिजेको थियो।ऊ त्यति पानीमा डुबेन !अचम्म भयो। तर त्यो मानिसले साहसपूर्वक प्रहरीलाई उद्धार गर्यो। यतिखेर फेरी पनि उनी मनिस रोए। प्रहरीले सोधे, “किन रोइरहेका छौ?”
मानिसले जबाफ दियो, “म देखेको छु कि पठाइएका गोर्खाली सेनाहरू पानीमा खसे। म गएर तिनीहरूलाई सुरक्षित निकालें। मेरो बाउला रुझेर पानी आयो।”अनि म रोए।

काठमाडौ पुगेपछि सत्य पत्ता लाग्योरानीको फरीया खसेको घटना साँच्चिकै थियो, र गोर्खाली सेना पनि नदीमा खसेको सत्य थियो। यो मानिस देवता थिए। भविष्यवाणी गर्ने र भविष्य देख्ने क्षमता भएका रहेछ।ति मानिस नभई चमत्कार देवता रहेको खुलासा भयो।
अब जुम्ला फर्किएपछि सबै कुराको जानकारी प्राप्त भएपछि देवतालाइ पुजा आजा गर्ने भन्ने सल्लाह हुन थाल्यो।
देवताले भने,“म कुनै मन्दिरमा स्थायी रूपमा बस्दिन। म त्यहाँ बस्छु जहाँ सिचाइ कम छ, अन्न उत्पादन हुँदैन, गरिब र दुखी मानिस बस्छन्। जो मलाई सेवा गर्नेछन्, तिनीहरूलाई म बरदान दिनेछु। म अन्न देवता र भुमि देवताको रूपमा प्रकट हुनेछु।”

यही देवता थिए बानादेव। भोटे, लामा, शेर्पा जातिको कुल देवता पनि मानिने बानादेवलाई विशेष गरी जाड, रक्सी, छ्याङ आदि चढाइन्छ। देवता आफैंले भोक पाउँछन्। कुल पुजारी प्रायः भोटे जातिका नै थिए।

बानादेव घुम्दै-घुम्दै विभिन्न ठाउँ गए। कतै चित्त मानेनन्। अन्ततः मुगुको ह्याङ्लु हुँदै बोल्ढिक हुँदै धिम गाउँ आइपुगे। त्यहाँ भोटे जातिको बस्ती रहेछ। सिचाइ र अन्न उत्पादनमा कमी भएकोले देवता खुशी भए।
“अब म यहीँ बस्नेछु,” बानादेवले सबैलाई घोषणा गरे।

तर एकदिन कुनै भोटे मानिसले देवताको पूजा विधि अनुसार नचलाए। शक्तिशाली देवताको क्रोधले उनको मृत्यु भयो। विधि अनुसार नचल्दा ठूलो संकट आउँथ्यो। समयसँगै बस्ती खाली भएपछि विभिन्न स्थानबाट मानिसहरू आए।

सबैभन्दा पहिले पाण्डेय बाहुन आए। पछि क्रमशः जुम्ला राज्यबाट धनन्जय रोकाया, मन्जय रोकाया र जन्मन्जय रोकाया आए। उनीहरू धिम गाउँमा बस्न थाले। भोटे जातिको जग्गा खाली हुँदा उनीहरूले त्यहाँ घर बनाए।

बानादेव ऐडि जातिसँग मिलेर आफ्नो रूप धारण गरे। यसरी ऐडि जातिको परिवारले पूजा गर्ने परम्परा सुरु भयो। नेजा उठाउने जिम्मेवारी डाडाडाडि बाहुनले पाए।

धिम गाउँमा बानादेव आउनु अघि ल्वासुर देवता बोर्ता गाउँमा बस्नु भएको थियो। स्थानको विशेषता राम्ररी भएकाले ल्वासुरलाई त्यहाँ पठाएर बानादेवले धिम गाउँमा बस्नुभयो। यसरी बानादेव अन्न र माटि देवता, ल्वासुर जियर देवता बने।

जुम्ला कनिका सुन्दरी माइको नेजा धिम गाउँमा ल्याउने क्रममा बानादेवलाई रहर जाग्यो। जुम्ला फर्केर ल्याउँदा माइले खड्ग प्रहार गरी दायाँ हात भाचिदिए। बाटवालाले बायाँ हात खोसेर ल्याए, त्यसैले पाट्पालो नाच्दा हात लुलु चल्दछ।

धिम गाउँले बानादेवको पूजा गर्ने मुख्य पर्व ‘खौँ’ हो। यो पर्व भदौ १–३ गतेसम्म मनाइन्छ। पर्व तीन भागमा विभाजित छ:

१. पहिला खौँ
२. माझ खौँ
३. छाड्दा खौँ

पर्वको अघिल्लो दिन गाउँ घुमाएर रागाँको बली दिने, जमरा उमार्ने, नेजा मन्दिरमा राख्ने, धामी-झाँक्रीको नाच हेर्ने चलन छ। घरभित्र बिहानै केही खाए बस्तुभाउले जिउलोमा बाली खाइदिने विश्वास छ।
हरेक दिन अपराह्न २–३ बजेतिर देवताको पूजा हुन्छ। देउडा खेल, फुटबल, भलिबल प्रतियोगिता पनि सञ्चालन हुन्छ। हुम्ला, मुगु, जुम्ला,बाजुरा ,कालिकोटदेखि सयौँ मानिसहरू पर्व हेर्न आउँछन्।

बानादेवको उपस्थितिले धिम गाउँमा वर्षा, अन्न वृद्धि र सुरक्षा ल्यायो। उनका पूजा, पर्व र परम्परा गाउँको सामाजिक एकता र सांस्कृतिक पहिचान बनाउने मुख्य आधार बने।
पछिल्ला केही वर्षयता युवाहरु बिदेश पलायनले पर्वको भव्यता घटाएको भए पनि स्थानीयहरू यसको संरक्षणमा सजग छन्।
यसरी बानादेव केवल अन्न र माटि देवता मात्र नभई धिम गाउँको सांस्कृतिक, सामाजिक र धार्मिक जीवनको केन्द्र बने। उनका पूजा, खौँ पर्व र नेजा उठाउने परम्परा आज पनि जीवित छन्।

चर्चामा

सम्बन्धित समाचार