• होमपेज
  • क्रिकेट
  • टी–२० विश्वकपः दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

टी–२० विश्वकपः दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

  • बुधबार, माघ २९, २०८२
टी–२० विश्वकपः दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौँ— टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ ।

भर्खरै सम्पन्न दुई सुपरओभरमा गएको खेलमा अफ्रिकाले रोमाञ्चक जित निकालेको हो । दोस्रो सुपर ओभरमा अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । डेभिड मिलरले ४ बलमा १६ तथा ट्रिस्टन स्टब्सले २ बलमा ७ रन जोडे ।

२४ रनको लक्ष्य पाएको अफगानिस्तानका रहमानुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गर्दै खेललाई फर्काएका थिए । अन्तिम १ बलमा ६ रनको आवश्यक थियो ।

अफ्रिकाका बलर केशव महाराजले वाइड बल फ्याँकेपछि १ बलमा ५ रनको आवश्यक पर्यो । लगातार तीन छक्का प्रहार गर्दै लयमा रहेका गुरबाजले अन्तिममा पनि केही ठूलो उलटफेर गर्ने सम्भावना राखेका थिए । तर महाराजले अन्तिम बलमा उनलाई आउट पार्दै खेल जिताए ।

त्यसअघि पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन नै बनाएको थियो ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाईले ५ बलमा १६ रन जोडे भने रहमनुल्लाह गुरबाजले १ रन जोडे । अफ्रिकाका डेवाल्ड ब्रेभिसले ६ तथा ट्रिस्टन स्टब्सले १० रन जोडे । १ रन डेभिड मिलरले बनाएका थिए । मिलर १ रन जोडेर आउट भएपछि स्टब्स क्रिजमा आएका थिए ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्दै अफ्रिकाले अफगानिस्तानलाई १८८ रनको लक्ष्य दिएको थियो ।

अफगानिस्तानका फजलहुक फारुकी रनआउट भएसँगै अफगानिस्तानले १८७ रनमा सबै विकेट गुमाएपछि खेल सुपर ओभरमा गयो। १९.४ ओभरमा उनी रनआउट हुन पुगे ।

कागिसो रवाडाले अन्तिम ओभरमा दुई नो’बल गरेका थिए । त्यसको फाइदा अफगानिस्तानले उठाउन सकेन ।

रहमानुल्लाह गुरबाजले ४२ बलमा ८४ रनको विष्फोटक पारी खेले । उनले सात छक्का र चार चौका प्रहार गरे । उनीबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय रन जोड्न सकेनन् । अजमतुल्लाह ओमरजाइले २२, डार्विस रसुलीले १५, राशिद खानले २०, नुर अहमदले १५, इब्राहिम जद्रानले १२ रन जोडे । बलिङतर्फ लुंगी एनगिडीले तीन विकेट लिए भने मार्को यानसन, कागिसो रवाडा, जर्ज लिन्डे र केशव महाराजले एक–एक सफलता हात पारे ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफ्रिकाले २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि क्वीन्टन डि कक र रायन रिकल्टनले अर्धशकतीय इनिङ्स खेले । रिकल्टनले २८ बलमा ६१ तथा डी ककले ४१ बलमा ५९ रन जोडे ।

यस्तै, डेवाल्ड ब्रेभिसले २३, डेभिड मिलरले २० तथा मार्को यानसनले १६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका अजमुतल्लाह ओमारजाईले तीन तथा राशिद खानले दुई विकेट लिए भने फजलहक फारुकीले एक सफलता हात पारे ।

अघिल्लो खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएको थियो भने दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले हराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार