• होमपेज
  • विचार/ब्लग
  • साफेंको त्यो पहिलो यात्रा: रहरको उकालो र बाध्यताको भारी

साफेंको त्यो पहिलो यात्रा: रहरको उकालो र बाध्यताको भारी

  • मङ्लबार, माघ २८, २०८२
साफेंको त्यो पहिलो यात्रा: रहरको उकालो र बाध्यताको भारी

“भोलि बिहान ५ बजे हिँड्नुपर्छ है!” पेश्की दिन आएका जय दाइले आँगनबाटै योजना सुनाउनुभयो। त्यो समय बाजुराको मार्तडी आसपासका मानिसका लागि अछामको साफेबगरबाट भारी बोकेर ल्याउनु नै मुख्य कमाइको स्रोत थियो। साफे-मार्तडी सडकको काम कछुवा गतिमा थियो। एकातिर जनयुद्धको त्रास, अर्कोतिर विकासको सुस्तता। हामीलाई त मनमनै सडक नबनेकै ठिक जस्तो लाग्थ्यो, किनकि भारी बोक्न पाए मात्र हाम्रो चुल्हो बल्थ्यो।
भोलिपल्ट बिहान ४ बजे नै आमाले बाटोका लागि रोटी तयार पारेर मलाई उठाउनुभयो। १३ वर्षको बालक, पहिलोपल्ट घर बाहिर कमाउन निस्कन लागेको थिएँ। हातमा ५०० रुपैयाँ पेश्की थियो। “किलोको २५ रुपैयाँ पाइन्छ, ३० किलो ल्याउन सके ७५० कमाई हुन्छ,” मेरो बाल मस्तिष्कले हिसाब लगाउँदै गर्दा आमाले झसंग पारिदिनुभयो— “के सोचेको बाबु? खाजा खाएर निस्क।”
बुवा चिन्तित हुनुहुन्थ्यो। भारी बोक्ने शैली र बाटोका जोखिमबारे उहाँले निकै सम्झाउनुभयो। “अल्लारेहरूले हिँड्न नसक्नेलाई बाटोमै छोडेर आउँछन्, पुराना मान्छेको साथ नछोड्नु,” बुवाको यो अर्ति मनमा राख्दै म घरबाट बाहिरिएँ।

हामी ६ जनाको टोली थियो: पुजारी दाइ, करन, दीप दाई, सुरे, जय दाइ र म। पुजारी दाइ पुराना ‘गाइड’ हुनुहुन्थ्यो। बाटोभरि ठट्टा गर्दै हामी साँझपख साफे पुग्यौं। पहिलोपल्ट गाडी देख्न पाउने रहरले म उत्साहित थिएँ। अचानक एउटा ट्याक्टर गुड्दै आयो।
“ओई हेर त, गाडी आयो!” सुरेले करायो।
पुजारी दाइले जिस्क्याउँदै भन्नुभयो, “यो नौल्याख्रा हो, यसलाई ढोग्नुपर्छ र घाँस खुवाउनुपर्छ।”
मैले पत्याइहालें। हतार-हतार धयारोको हाँगा भाँचेर ट्याक्टरको अगाडि राखिदिएँ र निहुरिएर ढोगें। साथीहरू अट्टहास हाँसे। पछि जय दाइले सम्झाउनुभयो, “गाडीले घाँस खादैन भाइ, यो त तेलले चल्छ।” म लज्जित त भएँ, तर गाडी देख्नुको खुसी त्यो लाजभन्दा कयौँ गुणा बढी थियो।

भोलिपल्ट जोशमै आएर मैले ३० किलोको भारी उठाएँ। सुरुको एक-दो घण्टा त सजिलै भयो, तर जब बूढीगंगाको तिरैतिर उकालो सुरु भयो, मेरो सातो गयो। नाम्लोले निधार काट्न थाल्यो। काँधका हड्डीहरू थिचिएर कराउन थाले। पसिनाले लुगा निथ्रुक्क भिज्यो। प्रत्येक चौतारीमा भारी बिसाउँदा पुन: उठाउनै मन लाग्दैनथ्यो। बाटोमा माओवादीहरूको डर र शरीरको थकानका बीच जेनतेन लरखराउँदै म गाउँ आइपुगें।

जब घरको आँगनमा भारी बिसाएँ, लाग्थ्यो मेरो शरीरबाट एउटा ठूलो पर्वत हटेको छ। शरीर हलुका भए पनि कम्मर र गर्धन कक्रक्क भइसकेका थिए। मैले गोजीबाट कमाएको रकम आमाको हातमा राखिदिएँ। आमाको अनुहारमा एउटा अनौठो चमक र खुसी देखियो। उहाँको १३ वर्षको छोरो ‘कमाउने’ भएर फर्किएको थियो।
तर, भारीको नाम्लोले गर्दा मेरो गर्धन यस्तो कक्रिएको थियो कि म सिधा हेर्नै सक्दैनथें। मेरो मुन्टो अलिकति देब्रेतिर कोल्टो परेको थियो। त्यो रात र भोलिपल्टसम्म पनि मेरो गर्धन सोझो भएन। घरका सबैजना मलाई हेरेर हाँस्न थाले। बुवाले जिस्क्याउँदै भन्नुभयो, “साफेंको गाडी हेर्न गएको छोरो, उतैको गाडी जस्तो ब्याट्री डाउन भएर आएछ!” आमाले तातो तेलले मालिस गरिदिँदै भन्नुभयो, “धेरै कमाई गर्ने लोभमा ३० किलो बोक्नेलाई यस्तै हुन्छ।” भाइबहिनीले “मुन्टो बाङ्गे” भन्दै दुई दिनसम्म जिस्क्याइरहे।

आज समय बदलिएको छ। मार्तडीसम्मै गाडी पुगिसक्यो। धुलो उडाउँदै गाडीहरू सरर कुद्छन्। त्यो ‘साफेंको बोझ’ बोक्ने दुःखका दिनहरू अब इतिहास बनिसके। समयसँगै मेरा ती सहयात्रीहरू पनि छरिएका छन्। हामीलाई डोहोर्‍याउने पुजारी दाइ अझै गाउँमै हुनुहुन्छ। हामीलाई जिस्क्याउने जय दाइ अहिले दिल्लीमा बस्नुहुन्छ। सुरे र दीपक दाइ जागिरमा लागेका छन् भने करन कहिले भारत त कहिले गाउँ गर्दै जीवन चलाइरहेको छ।
आज पनि जब मार्तडीमा गाडीको हर्न सुन्छु, मलाई १३ वर्षको त्यो केटो सम्झना आउँछ, जसले गाडीलाई घाँस खुवाएको थियो र भारीको बोझले दुई दिनसम्म गर्धन सोझो बनाउन सकेको थिएन। त्यो भारीले मलाई जीवनको उकालो काट्न सिकाएको रहेछ।

चर्चामा

सम्बन्धित समाचार