• होमपेज
  • बडिमालिका
  • बडीमालिका–७ रजातोलीमा निर्माणाधीन पुल पहिरोले पुरियो, ६५ लाख बराबरको क्षति

बडीमालिका–७ रजातोलीमा निर्माणाधीन पुल पहिरोले पुरियो, ६५ लाख बराबरको क्षति

  • आइतवार, माघ १९, २०८२
बडीमालिका–७ रजातोलीमा निर्माणाधीन पुल पहिरोले पुरियो, ६५ लाख बराबरको क्षति

बाजुरा—बाजुराको बडीमालिका नगरपालिका ७ रजातोली खोलामा निर्माणाधीन मोटरेवल पुल पहिरोले पुरिँदा निर्माण कार्य प्रभावित भएको छ । यहीँ माघ ११ गतेदेखि १५ गतेसम्म भएको बर्षासँगै हिमपातका कारण खोला माथिबाट आएको पहिरोले निर्माणधीन पुल पुरिएको हो ।

करिब दुई महिनाअघि निर्माण कार्य सुरु गरिएको उक्त खोलाको पुल माघ १२ र १३ गते बेलुका खोला माथिबाट खसेको पहिरोले परिँदा काम अवरुद्ध भएको छ भने लाखौंको क्षति भएको छ । रजातोली खोलामा २०८२ पुष १७ गते सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पालले शिलान्यास गरेर पुल निर्माण कार्य सुरु गरिएको थियो । उक्त खोलामा मोटरेवल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय अछाम अन्तर्गत PK–CPCS–SC JV,धनगढी कैलालीले २०८४ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ३ करोड ५८ लाख बढीमा ठेक्का सम्झौता गरेको छ ।

पुल निर्माण कार्य जिम्मा लिएको कम्पनीका जेभी पार्टनर सुरत बहादुर शाहले खोला माथिबाट खसेको पहिराले निर्माण स्थलमा पहुँच मार्ग क्षतिग्रस हुनुका साथैं निर्माण सामग्री पुरिएको, अस्थायी संरचना भत्किएको तथा निर्माण कार्य अस्थायी रुपमा अवरुद्ध भएको बताए । उनले यसै बर्षको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गरी सक्ने गरी लक्ष्यका साथ तीव्र रुपमा काम भइरहेको भए पनि ढलान गर्ने अन्तिम तयारी अवस्थामा रहेको पुल पहिरोले पुरिँदा ठूलो क्षति भएको बताए । उनले भने,“पुल निर्माण स्थलमा पहुँच मार्ग, निर्माण समाग्री, सरीया, प्लाई लगायतका सामानमा गरी करिब ६५ लाख बराबरको क्षति भएको छ ।” त्यस्तै शाहले प्राकृतिक विपत्तिका कारण पुल निर्माण कार्यमा भएको क्षतिको यर्थाथ विवरण स्थलगत रुपमा निरीक्षण गरेर सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यस्तै पहिरो पुल निर्माण कार्यमा भएको क्षतिबारे आइतबार प्रहरी, स्थानीय तथा जनप्रतिनिधिहरुको स्थलगत निरीक्षणपछि मुचुल्का उठाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । वडा अध्यक्ष पाध्यायले विकासको सपनामाथि पहिरो गएको भन्दै पुनः पहिरो खस्ने सम्भावना देखिएकाले प्राविधिक टोलीबाट तत्काल स्थलगत मूल्यांकन गरी पहिरो रोकथामका लागि दिर्घकालीन जोखिम न्यूनीकरण योजना अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार