
बाजुरा—नेकपा (एमाले) बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित कार्यकर्ता भेला तथा चुनावी अभियान सञ्चालन गरेको छ । एमालेले जिल्लाका ९ वटै स्थानीय तहमा कार्यक्रम गर्ने गरी शुक्रवार गौमुल गाउँपालिकाबाट चुनावी अभियान सञ्चालन गरेको हो ।
जिल्लामा एमालेबाट आगामी प्रतिनिधि सदस्य निर्वाचनका उम्मेदवार लाल बहादुर थापा, पार्टी केन्द्रीय सदस्य कर्ण बहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया सहितका नेताहरु एकसाथ सहभागी भएर चुनावी अभियान सुरु गरिएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्लाका पालिका तथा बस्तीहरूमा पुगेर संगठन सुदृढीकरण, कार्यकर्तालाई सक्रिय बनाउने र जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित अभियान अघि बढाएको पार्टी जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले बताएका छन् । उनका अनुसार गौमुलबाट सुरु गरिएको कार्यकर्ता भेटघाट तथा चुनावी अभियान शनिवार खप्तड छेडेदह गाउँपालिकामा गरिएको छ ।
भेटघाट कार्यक्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ । कार्यक्रममा बोल्ने नेताहरूले एमाले जनताको पार्टी भएको उल्लेख गर्दै जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्ने भन्दै पार्टीका उम्मेदवारलाई विजय गराउन सबै एकजुट हुने पर्नेमा जोड दिएका छन् । कार्यकर्ता भेटघाटका क्रममा स्थानीय कार्यकर्ताहरूले आफ्ना समस्या समाधान, विकासका सम्भावना र पार्टी संगठनलाई थप बलियो बनाउने उपायबारे आफ्ना सुझाव राख्दै सोही अनुसार अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा पराजय भोग्न बाध्य एमाले यसपटक जसरी पनि माहोल आफ्नो पक्षमा पार्दै विजय हासिल गर्ने दाउमा छ । जिल्लामा आगामी निर्वाचनका लागि एक स्वतन्त्रसहित ७ दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
