
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी-विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा पनि ‘स्टन्ट’ को भरमा लोकप्रिय हुनेहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरेका हुन्।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गरिनु मुलुकका लागि सुखद नभएको बताए। उनले भने, ‘अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठुलो लगानी गरेको हामीले देखिरहेका छौँ।’
यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविक रूपमा भन्दा पनि प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको उनको जिकिर छ। दाहालले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न कम्युनिस्ट र वामपन्थी शक्तिहरूबिचको एकता अपरिहार्य भएको उल्लेख गरे।
इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्नकै लागि आफूले कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको उनको भनाइ छ। कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने भन्दै उनले अन्य छरिएर रहेका शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।
