
बाजुरा—बाजुरा जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा तयारी तीव्र पारेको छ । सुरक्षा योजनाअनुसार निर्वाचनका लागि मतदानस्थल निरीक्षण, सुरक्षाकर्मी तथा कर्मचारी परिचनालन, शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायविच समन्वय लगायतका तयारी भइरहेको सु्रक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनले जिल्लामा निर्वाचन प्रहरी भर्ना छनौट भइसकेको र सुरक्षाकर्मी तथा कर्मचारी परिचालनका लागि विवरण संकलन कार्य भइरहेको जानकारी दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका ७७ वटा मतदानस्थलमध्ये ६२ अतिसंवेदनशील, १२ संवेदनशील र ३ सामान्य गरी वर्गीकरण गरिएको बताएका छन् । जसअनुसार कुल मतदानस्थलमध्ये ८० दशमलव ५१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।
आगामी निर्वाचनको प्रयोजनका लागि निर्वाचन सुरक्षाका दृष्टिले मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा राखिएको जनाएको छ । अतिसंवेदनशील र संवेदनशील मतदान स्थलमा सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थिति लगाएतका कुराहरुलाई आधार बनाएर सुरक्षा व्यवस्था कडाइ गरिने पनि जिल्ला सुरक्षा समिति अध्यक्ष निरौलाले बताए ।
त्यसैगरी एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उनीहरुले हरेक निर्वाचनमा तिता घटना हुने गरेको भन्दै आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्रपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्नका लागि ९ बुदेँ सामूहिक प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।
बाजुरामा हाल कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । त्यस्तै ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।
