शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • एमाले बाजुराका उम्मेदवार थापाले थाले गृहपालिकाबाट चुनावी प्रचार

एमाले बाजुराका उम्मेदवार थापाले थाले गृहपालिकाबाट चुनावी प्रचार

  • शुक्रबार, माघ १०, २०८२
एमाले बाजुराका उम्मेदवार थापाले थाले गृहपालिकाबाट चुनावी प्रचार

बाजुरा– नेकपा एमाले बाजुराका उम्मेदवार लालबहादुर थापाले आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन् । माघ ६ गते उम्मेदवारी दर्ता पछि थापाले गृह पालिका बुढीगंगाको ब्रह्मतोला क्षेत्रबाट चुनावी प्रचार सुरु गरेका हुन् । बुढीगंगा नगरपालिका १, २ र ३ साविक ब्रह्मतोला गाउँ विकास समिति हो । थापा हाल पालिकाको ३ नम्बरका स्थानीय हुन् ।

एमालेका अगुवा कार्यकर्तालाई बोलाएर थापाले उम्मेदवार बनिसकेपछिको पहिलो भेट सहीत चुनावी रणनीति र सहकार्य बारे छलफल गरेको एमाले जिल्ला कमिटी सदस्य गणेश थापाले जानकारी दिएका छन् । चुनावी प्रचार रणनीति, युवा परिचालन र घरदैलो अभियान बारे छलफल गरिएको हो ।

२०४४ सालमा नेपाल ल क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा २०५३ सालमा एमाले पार्टीको बाजुरा जिल्ला सचिव, २०६९ सालमा जिल्ला अध्यक्ष बनेका थिए । भने २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट बाजुरा जिल्ला सभापति समेत बनेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुरा जितेर थापा संसदीय राजनीतिमा प्रवेश गरेका थिए ।  २०७९ सालमा नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहीतका दलको चुनावी गठबन्धन हुँदा थापा प्रदेश सभाको निर्वाचनमा पराजित बनेका थिए ।

कानुन र राजनीति शास्त्रमा स्नातक गरेका थापालाई २०५९ सालमा माओवादीद्वारा १५ दिनसम्म अपहरण गरिएको थियो । जुन घटनाबाट थापालाई कुनै प्रकारको कमजोरी र गलत आक्षेप लगाउन सक्ने ठाउँ नपाएपछि अपहरण मुक्त गरेको थियो । नेकपा एमालेको केन्द्रीय सदस्य थापा पेशाले वकिल समेत हुन् । थापाले फेरि फागुन २१ मा हुने निर्वाचनको लागि एमालेबाट टिकट पाएका हुन् । नेकपा एमाले अध्यक्ष लालबहादुर ओली सहीतका नेताहरु लिएर थापाले औपचारिक रुपमा चुनावी प्रचार सुरु गरेका हुन् । बुढीगंगा नगरपालिका भित्रका १, २ र ३ नम्बर वडालाई नेकपा एमालेले आफ्नो लाल किल्लाको रुपमा स्थापित गर्दै आएको छ ।

यो पटक बाजुराबाट उठेका ८ जना उम्मेदवार मध्ये नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुढीगंगा नगरपालिकाबाटै चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाले हेमराज थापा १ का हुन्, भने एमाले उम्मेदवार लालबहादुर थापा ३ र नेकपाका उम्मेदवार प्रकाश शाह ६ नम्बरका स्थानीय हुन् । ८ जना मध्ये नेपाली काँग्रेसका जनकराज गिरी, राप्रपाका केशरबहादुर शाही र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही स्वामिकात्र्तिक खापर गाउँपालिकाबाट उम्मेदवार बनेका छन् । प्रगतिशिल लोकतान्त्रिक पार्टीका दिपक डिसी खप्तड छेडेदह र नेकपा माओवादीका भुपेन्द्र विक जगन्नाथ गाउँपालिकाबाट उम्मेदवार बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार