
बाजुरा— प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा बहुकोणीय प्रतिस्पर्धा देखिने संकेत देखिएको छ। हालसम्म विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दल र स्वतन्त्रतर्फबाट आठ जना उम्मेदवार मैदानमा उत्रिएका छन् भने केही दलबाट थप उम्मेदवारी घोषणा हुने सम्भावना पनि रहेको छ।
हालसम्म सार्वजनिक भएका उम्मेदवारहरूमा नेपाली काँग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीबाट प्रकाश बहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राप्रपाबाट केशर बहादुर शाही , नेकपा (माओवादी केन्द्र) बाट भुपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी, र स्वतन्त्रतर्फबाट तपेन्द्र शाही उम्मेदवार रहेका छन्। यसबाहेक अन्यकाे पनि उम्मेदवारी थपिने सम्भावना रहेको देखीएकाे छ।
पुराना शक्ति र नयाँ अनुहारबीच टक्कर
यसपटकको निर्वाचनमा बाजुरामा परम्परागत दलहरू र नयाँ राजनीतिक शक्तिबीचको प्रतिस्पर्धा रोचक देखिएको छ। नेपाली काँग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरू आफ्नो पुरानो संगठनात्मक आधारमा चुनावी रणनीति बनाइरहेका छन् भने माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले वैचारिक प्रतिबद्धता एक भएर चुनावी मैदानमा गएका छन् । विगतका आन्दोलनलाई मुख्य एजेन्डा बनाएका छन्।
उता, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले सुशासन, परिवर्तन र नयाँ राजनीतिक संस्कारलाई प्रमुख मुद्दा बनाउँदै युवामुखी मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्। प्रलोपा जस्ता साना दलले भने श्रमिक, उत्पीडित वर्ग र वैकल्पिक राजनीतिलाई जोड दिएका छन्।
विकास, पहुँच र विश्वास मुख्य मुद्दा
बाजुरामा सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र सञ्चार पहुँच जस्ता आधारभूत विकासका विषय यसपटक पनि प्रमुख चुनावी मुद्दा बन्ने देखिन्छ। विगतमा निर्वाचित प्रतिनिधिबाट अपेक्षित विकास नहुँदा जनआक्रोश बढेको भन्दै मतदाताले कार्यसम्पादन र विश्वासयोग्य नेतृत्व खोजिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। विशेषगरी युवा मतदाता, वैदेशिक रोजगारीमा गएका परिवार र दुर्गम बस्तीका नागरिकको मत निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।
बहुकोणीय प्रतिस्पर्धाले मत विभाजनको सम्भावना बढाएको छ। यसले ठूला दललाई चुनौती थपिएको छ भने नयाँ दल र स्वतन्त्र उम्मेदवारलाई अवसर पनि सिर्जना गरेको छ। अन्ततः उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय पहुँच, र विकासप्रतिको स्पष्ट दृष्टिकोणले नतिजा निर्धारण गर्ने देखिन्छ। निर्वाचन मिति नजिकिँदै जाँदा बाजुराको राजनीतिक माहोल थप तातेकाे छ। आज मनाेनयन हुने भएकाेले उम्मेदवार र दलका नेताहरु रातारात बाजुरा पुग्ने क्रम जारी रहेकाे छ ।
