
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालको प्रयोग पार्टीको हितमा गर्न नेता-कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा लड्ने को सँग र कसको प्रसंसा गर्ने थाहा पाउनुपर्ने बताए ।
‘लड्ने को सँग थाहा पाउनुपर्छ । खण्डन के को गर्ने त्यो थाहा पाउनुपर्छ । प्रसंसा के को गर्ने थाहा पाउनुपर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राम्रो कमेन्ट गरौं, राम्रो कमेन्टलाई समर्थन गरौं, लाइक गरौं र नराम्रोलाई खण्डन गर्न पनि नबिर्सौं ।’
अरु सामाजिक सञ्जाल प्रयोगकर्तामार्फत नभएर आफैँ सामाजिक सञ्जालको प्रयोगमा जुट्न नेता-कार्यकर्तालाई उनको आग्रह छ ।
‘हरेकको हात–हातमा मोबाइल छ । हामी आफैँ सामाजिक सञ्जाल प्रयोगकर्ताका योद्धा हौं । हामी हरेकले यो लडाईं लड्नुपर्छ’ ओलीको निर्देशन छ, ‘कमसेकम दिनमा १० वटा एसएमएस गर्नुस् । १० वटा फेसबुक स्ट्याटस लेख्नुस् । एमालेको पक्षमा लेख्नुस् । दिनमा १० वटा लेख्नुस् । हामीले गरेका काम लेख्नुस् दिनमा १० वटा । राम्रा कुराहरू लेख्नुस् दिनमा १० वटा । १० वटा कमेन्ट गर्नुस् र गलत कुराको विरुद्ध हमला गर्नुस् ।’
एकले अर्कोको स्ट्याटस र कमेन्ट लाइक गर्न पनि उनको आग्रह छ । ‘साथीभाइले गरेका राम्रा कुरामा लाइक त थितिदिनुस् बाबा । ति छेउमै हुन्छ लाइक । त्यो गाह्रो कुरै छैन । कमसेकम त्यति गर्न सकिन्छ’ ओलीको आग्रह छ, ‘विरोधीले विरोध गर्छ भने त्यो गालीका मुनि पहिल कुरा बुझ अनि कमेन्ट गरौंला भनेर ययति त लेखिदिनुस् ।’
