
सुर्खेत — रोजगारीका सिलसिलामा भारत गएका सल्यानका दुई परिवारका ९ जनाको आगलागीमा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्यहरू छन् ।
उक्त वडाका वडाध्यक्ष मेक बहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा स्थानीय धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् ।
यी एउटै स्थानका दुई परिवारका सदस्यहरू हुन् ।
उनीहरू रोजगारीको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशको सोलोन जिल्लाको अर्की भन्ने बजारमा काम गर्थे, पुस २७ गते उनीहरू आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । यद्यपि आगलागीको कारण भने नखुलेको वडाध्यक्षले बताए ।
आफ्ना नागरिकको मृत्यु भएपछि वडा कार्यालयले मंगलबार शोक बिदा घोषणा गरेको छ ।
