
बाजुरा– गौमुल गाउँपालिकाले आर्थिक रूपमा कमजोर तथा दलित, जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन आह्वान गरेको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उच्च शिक्षा तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिने भएको हो।
दलित छात्र छात्राका लागि शैक्षिक पंहुच बिस्तार तथा अध्यन निरन्तरतामा टेवा पुगोस् भन्ने उदेश्य सहित पालिकाले छात्रवृत्ति कोष निर्देशिका बनाएर कार्यक्रम लागू गरिएको पालिका अध्यक्ष हरि बहादुर रोकाएले बताए । गौमुल गाउँपालिका छात्रवृत्ति कोष निर्देशिका, २०७४ अनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने योग्य विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
छात्रवृत्तिका लागि आवेदन दिन नेपाल सरकारले सूचीकृत गरेको दलित जातजाति सम्बन्धी सिफारिस पत्र, आर्थिक अवस्था कमजोर भएको वडा कार्यालयको सिफारिस, क्याम्पस प्रशासनको सिफारिस तथा विद्यार्थीको लिखित निवेदन अनिवार्य गरिएको छ। गाउँपालिकाले शैक्षिक पहुँच विस्तार र विपन्न विद्यार्थीको अध्ययन निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। थप जानकारीका लागि गाउँपालिकामा सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ।

