
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा नेपाल टेलिकमको अप्टिकल फाइबर नेट जडान हुने भएको छ । गाउँपालिकामा सेवा प्रवाहमा सहजतासँगै प्रविधिमैत्री बनाउने उदेश्यका साथ उच्च गति, दिगो र भरपर्दो इन्टरनेट सेवा जडान गर्न लागिएको हो ।
गाउँपालिकाकाअनुसार पहिलोपटक पालिकामा फाइबर नेट जडानका लागि ठेक्का समेत भइसकेको छ । टेलिकमले सेरा बजारदेखि गाउँपालिकाको केन्द्र डोगडीसम्म करिब चार महिनामा फाइबर नेट जडानका लागि ठेक्का सम्झौता समेत गरेको छ ।
हाल गाउँपालिकामा उच्च र भरपर्दो इन्टरनेट सेवा नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै फाइबर नेट जडान गर्न लागिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । उनले भने, “राम्रो इन्टरनेट नहुँदा गाउँपालिकामा सेवा प्रवाहसँगै पालिकामा रहेको बैङ्कमा पुग्ने सेवाग्राहीहरुले समेत समस्या भोग्नु पर्ने बाध्यता छ, अब यसको अन्त्य गर्न उच्च गतिको फाइबर नेट जडान हुदैँ छ ।” अध्यक्ष रावतले अहिले पहिलोपटक गाउँपालिकामा फाइबर नेट जडान हुने र पछि विस्तारै सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा समेत इन्टरनेट जडान गरिने जानकारी दिए ।
त्यस्तै अहिले गाउँपालिकासँगै वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका कार्यालयमा उच्च गतिको राम्रो इन्टरनेट नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ भने कुनै ठाउँमा त मोबाइल डाटा प्रयोग गरेर काम गर्नु पर्ने बाध्यता रहेको कर्मचारीहरुले बताएका छन् ।
स्थानीय सरकारको प्राथमिकता बमोजिम हरेक कार्यालय सहित गाउँ स्तरमै उक्त इन्टरनेटको सुविधा पुगे अनलाइनबाट प्रवाह हुने सम्पूर्ण प्रशासनिक सेवाहरु छिटो छरितो र प्रभावकारी रुपमा सम्पन्न गर्न सहजता हुने विश्वास लिइएको छ ।
हाल नेपाल टेलिकमको उच्च गति र भरपर्दो इन्टरनेट सेवा फाइबर नेट जिल्लाको सदरमुकाम समेत रहेको बडीमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकामा मात्रै जडान भएको छ । टेलिकमले अब खप्तड छेडेदह सहित गौमुल तथा पूर्वी उत्तरी भेग कोल्टी क्षेत्रका पालिकासम्म पनि उक्त इन्टरनेट जडान गर्ने तयारी थालिएको जनाएको छ ।
