
बाजुरा—सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाललाई विभिन्न माग राख्दै खप्तड छेडेदह गाउँपालिकाले ज्ञापन पत्र बुझाएको छ । जिल्ला भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री पाललाई गाउँपालिकाले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै विकास निर्माणका लागि गम्भीर भईदिन समेत आग्रह गरेको छ ।
गाउँपालिकाले प्राकृतिक सम्भावना र समस्याको जानकारी गराउँदै पालिकाको विकास निर्माणका विषयमा विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो । गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष बिशुदेवि नाथ र प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले ९ बुदेँ माग राख्दै मन्त्री पाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमार्फत पालिकामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको र यस गाउँपालिकाको विकास र समृद्धिको लागि पर्याप्त सम्भावना बोकेको छेडेदह ताल पहिरोको उच्च जोखिममा हुँदा पहिरो नियन्त्रण तथा पर्यटकीय विकास र प्रवद्र्धनका लागि बजेट विनियोजन सहित आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताए । यस्तै गाउँपालिकासँग जोडिएको खप्तड र बडालेखको विकास, बल्दै आटिचौर हुदैँ थामलेक सम्मको सडक स्तरोन्नती र कालोपत्रेका लागि आगामी आव देखि नै काम सुरु हुने गरी बजेट विनियोजन गरिदिन ज्ञापन पत्रमार्फत मन्त्री पाललाई आग्रह गरिएको उनले बताए ।
त्यस्तै उपाध्यक्ष बिशुदेवि नाथले बल्दे–आटीचौर, मैतोला सुदाडा पिनालेख–भौनेरा हुदैँ मार्तडी जोड्ने सडक स्तरोन्नती कार्य दु्रत गतिमा अगाडि बढाउन तथा सो सडकमा पर्ने नाइना बस्ती पहिरो नियन्त्रणका लागि आवश्यक संरचना र सडक निर्माणका लागि पेश भएको भेरियशन आदेश तत्काल स्वीकृति गरी दिन अनुरोध गरिन् । उनले ज्ञापन पत्रमार्फत खप्तड जान सहज तथा छोटो मार्ग डाब काँडा सडकखण्डको स्तरोन्नती तथा कालोपत्रेको लागि बजेट विनियोजनको माग समेत मन्त्री पाललाई गरिएको बताइन् ।
त्यस्तै गाउँपालिकाले बुझाएको ज्ञापन पत्रमा वडा नम्बर ५ डोगडी बृहत खानेपानी निर्माणका लागि बजेट, सोही वडाको भुजनगाड र सिउनगाड खोलामा मोटरेवल पुल निर्माण गर्न चालु आवमा डिपिआरका लागि प्रदेशबाट बजेट विनियोजन भइसकेको भन्दै उक्त पुलहरु निर्माण गर्न आगामी आवमा बजेट विनियोजन गरिदिन आग्रह गरिएको छ । यस्तै गाउँपालिकाको भौगोलिक विकटता तथा विकासमा पछाडि परेको अवस्थालाई मध्यनजर गर्दै समग्र पालिकाको विकास र समृद्धिका लागि सदैव सहयोगको समेत अपेक्षा गरिएको जनाएको छ ।
गाउँपालिकाले बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री पालले याँहाको विकासका लागि आफू प्रतिवद्ध रहेको भन्दै तत्काल माग सम्बोधन गर्न आवश्यक सहयोगका लागि सदैव तत्पर रहेको आश्वासन दिएका छन् ।
