
धनगढी— आगामी फागुन २१ गतेका लागि ताेकिएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६ सय ६० मतदाता कायम भएका छन्। हालै निर्वाचन आयाेगले अद्यावधिक गरेकाे मतदाता नामावली विवरणमा प्रदेशभर साे सङ्ख्यामा मतदाता कायम भएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार आगामी निर्वाचनका लागि प्रदेशकाे राजधानी समेत रहेकाे कैलालीमा सबैभन्दा बढी ५ लाख ५१ हजार ५२ जना मतदाता छन् भने बाजुरामा सबैभन्दा कम ८७ हजार ८ सय ६१ जना मतदाता रहेको छन् । त्यस्तै कञ्चनपुरमा ३ लाख १४ हजार ३ सय ८५, अछाममा १ लाख ६५ हजार ३ सय ३७, बैतडीमा १ लाख ५६ हजार ३ सय ७२, डोटीमा १ लाख २८ हजार ३ सय ९९, बझाङमा १ लाख २६ हजार ९ सय ३, डडेल्धुरामा ९३ हजार ९ सय ३ र दार्चुलामा ९२ हजार ९ सय ४८ मतदाता रहेका छन्।
२०७९ को निर्वाचनको तुलनामा अहिले प्रदेशमा मतदाताको सङ्ख्या बढेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
हाल निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावलीमा प्रदेशका नौ वटै जिल्लामा ४२ हजार ३१ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। उनका अनुसार अघिल्लो निर्वाचनमा यस प्रदेशमा १६ लाख ७४ हजार ६ सय २९ मतदाता थिए।
त्यसैगरी, प्रदेशभरी एक हजार १ सय ७६ मतदानस्थल र दुई हजार १ सय ९९ मतदान केन्द्र कायम गरिएको जनाएकाे छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका लागि कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र बाँकी अन्य जिल्लामा एक/एक निर्वाचन क्षेत्रका हिसाबले जम्मा १६ वटा निर्वाचन क्षेत्र रहेका छन्।
