
बाजुरा—जिल्ला अस्पताल बाजुरामा हाडजोर्नी तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर शिरीष श्रेष्ठ आएसँग सेवा पुनः सुचारु भएको हो ।
यसअघि २०८२ असोजमा जिल्ला अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रोशन भट्टराई गएपछि सेवा अवरुद्ध भएको थियो ।
जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अहिले डाक्टर श्रेष्ठ आएपछि करिब तीन महिनादेखि अवरुद्ध भएको सेवा पुनः सु्चारु भएको जानकारी दिए । उनले यसअघि डाक्टर भट्टराई गएपनि अस्पतालमा एमडीजीपी डाक्टर आइसकेकोले हाडजोर्नी तथा नसारोग सम्बन्धी सेवा पूर्ण रुपमा भने नरोकिए पनि केही प्रभावित भएको बताए ।
डाक्टर श्रेष्ठ आएसँग ढाड तथा कम्मर दुख्ने समस्या, घुँडा दुख्ने तथा सुन्निने समस्या, नसा च्यापिएको तथा नसा कमजोर भएको समस्याको उपचार हुने जिल्ला अस्पतालले जनाएको छ । त्यसैगरी, अबदेखि पैताला र पाता पोल्ने समस्या, जन्मजात हातखुट्टा बाङ्गो भएको उपचार, दुर्घटना वा प्लास्टरपछि भएको हड्डीसम्बन्धी समस्याको उपचार र सबै प्रकारका हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरुका लागि सहज हुने भएको छ ।
जिल्ला अस्पताल बाजुरामा हाल सुविधायुक्त भौतिक संरचना, एमडीजीपी डाक्टर सहित विशेषज्ञ डाक्टर कार्यरत भएपनि अझै विशेषज्ञ चिकित्सक, उपकरण तथा औषधिहरुको अभाव हुने समस्या कायमै रहेको छ । अहिले अस्पतालमा बाजुरासहित छिमेकी कालिकोट, मुगु, हुम्ला लगायतका जिल्लाबाट दैनिक डेढ सय बढी बिरामीहरु पुग्ने गरेका छन् ।
