
बाजुरा— नेपाली राजनीतिमा थुप्रै नामहरू छन्, जो पद, अवसर र शक्तिसँगै चर्चामा आउँछन्। तर केही यस्ता नाम पनि छन्, जसको जीवन कथा पद भन्दा धेरै संघर्ष, त्याग र प्रतिबद्धताले लेखिएको हुन्छ । सञ्जय कटेल त्यस्तै एक नाम हो जसले राजनीति पदका लागि होइन, विश्वासका लागि जिए, युद्धमा अंग गुमाए तर विचार गुमाएनन् र आज पनि संसद्को ढोका ढकढक्याउन अवसरको खोजीमा रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी बाजुराले प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारमा जिल्लाबाट सञ्जय कटेलको नाम पुनः सिफारिस गरेको छ । यो उनको पहिलो सिफारिस होइन। २०७४ सालदेखि हालसम्म उनी तीन पटक राष्ट्रिय सभा तथा प्रतिनिधिसभाको समानुपातिक सूचीमा परेका छन् । तर सिफारिस सूची संसद्मा पुग्दा, कटेलको नाम भने बारम्बार इतिहासमै सीमित हुँदै आएको छ ।
खारा मोर्चाको घाइते योद्धा सञ्जय कटेल संसद्को प्रतीक्षामा रहेका छन । यस अघि २ पटक समानुपातीक सिफारीसमा परेका कटेलको नाम पुन नेपाली कम्युनिस्ट पार्टी बाजुराले सिफारीस गरेको छ । प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारमा कटेलको नाम जिल्लाबाट सिफारिस गरेको भए पनि उनि अझै विस्वस्त छैनन् । लामो समयदेखि पार्टी संगठन र जनआन्दोलनमा सक्रिय रहेका कटेलको राजनीतिक तथा संघर्षपूर्ण जीवनलाई मध्यनजर गर्दै पार्टीले उनलाई उम्मेदवारका रूपमा अघि सारेको भए पनि यस अघिको जस्तै हुने हो की भन्नेमा उनको बुझाइ रहेको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका ३ मा जन्मिएका कटेलको राजनीतिक यात्रा २०५० सालमा तत्कालीन एमाले पृष्ठभूमिबाट सुरु भएको थियो । त्यसपछि माले हुँदै २०५६ सालमा नेकपा (माओवादी) को कर्णाली जनहातेमालो अभियानका क्रममा पार्टीसँग सम्पर्कमा आएर संगठित सदस्य बनेका थिए । २०५७ सालमा कालिकोट–बाजुरा वाईसीएल जिल्ला कमिटीमा रहेर काम गरेका कटेलले पछि बाजुरा जिल्लाको सचिवको जिम्मेवारी समेत बहन गरे ।
२०५८ सालमा पूर्णकालीन (भूमिगत) कार्यकर्ता बनेका कटेल जिल्लाको उत्तरी भेगमा पार्टी संगठन विस्तारमा निरन्तर क्रियाशील रहेका छन् । पार्टीको आवश्यकताअनुसार उनी जनमुक्ति सेनामा भर्ना भई झण्डै दर्जनौँ मोर्चामा सक्रिय रूपमा सहभागी भए । पार्टी संगठनले दिएको जिम्मेवारी र केन्द्रको योजना अनुसार कार्य गर्दै जाने क्रममा २०६१ साल चैत २५ गते चर्चित रुकुमको सानीपोले–खारा मोर्चा आक्रमणमा एसाल्ट दस्तामा लड्दा लड्दै उनी घाइते भएका थिए । उक्त लडाइँका क्रममा दाहिने खुट्टा र देब्रे कञ्चटमा गोली लाग्दा उनको दाहिने खुट्टा घुँडाभन्दा माथिबाट गुमेको थियो ।
घाइते भएपछि पनि कटेल पार्टी गतिविधिबाट अलग भएनन् । उनी जनमुक्ति सेनाको कम्पनी कमान्डरको जिम्मेवारीमा रहँदै २०६६ सालदेखि राज्य कमिटी सदस्य, हुँदै हालसम्म सुदूरपश्चिम प्रदेश कमिटीको जिम्मेवारीमा कार्यरत छन् । पार्टीभित्र निरन्तर योगदान र त्यागका बाबजुद कटेल २०७४ सालदेखि हालसम्म तीन पटक राष्ट्रिय सभा तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस भए पनि हालसम्म संसद्मा पुग्ने अवसर भने पाउन सकेका छैनन्। यति लामो त्याग, संघर्ष र समर्पणका बाबजुद कटेलले संसदीय प्रतिनिधित्वको अवसर भने पाएका छैनन्। २०७४ यता तीन पटक उम्मेदवारी सिफारिस भए पनि नाम अन्तिम सूचीमा पर्दै–पर्दै बाहिरिएको छ। यसले पार्टीभित्र नै प्रश्नहरू जन्माएको छ—युद्धमा अग्रपंक्तिमा लड्नेहरू शान्तिको राजनीतिमा किन पछाडि परिरहे ?
यसपटक पनि जिल्लाबाट उनको नाम सिफारिस भएसँगै बाजुरामा मात्र होइन, सुदूरपश्चिमभर पार्टी कार्यकर्ताबीच बहस सुरु भएको छ। खारा मोर्चाको घाइते योद्धाले कहिले संसद्मा आफ्नो आवाज राख्न पाउने? के त्याग र बलिदानको मूल्य राजनीतिक सूचीमा पनि देखिनेछ ? सञ्जय कटेलको कथा कुनै एक व्यक्तिको मात्र होइन। यो कथा एउटा पुस्ताको हो—जसले युद्धमा शरीर सुम्पियो, शान्तिमा धैर्य सुम्पियो, र अझै पनि विश्वास सुम्पिन तयार छ। संसद्को ढोका अझै खुलेको छैन, तर कटेलको प्रतीक्षा भने राजनीतिजत्तिकै लामो भइसकेको छ ।
