• होमपेज
  • राजनीति
  • शंकर पोखरेल भन्छन्– षड्यन्त्रको दोस्रो चरणको तयारी हुँदैछ, पुराना शक्तिबीच एकता आवश्यक

शंकर पोखरेल भन्छन्– षड्यन्त्रको दोस्रो चरणको तयारी हुँदैछ, पुराना शक्तिबीच एकता आवश्यक

  • आइतवार, पुस १३, २०८२
शंकर पोखरेल भन्छन्– षड्यन्त्रको दोस्रो चरणको तयारी हुँदैछ, पुराना शक्तिबीच एकता आवश्यक

काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने षडयन्त्रको दोस्रो चरणको तयारी भइरहेको आशंका गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएकै दिन बिहान एमाले महासचिव पोखरेलले सो आशंका गरेका हुन् ।

पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह कसैको नाम नलिई फेसबुकमा लेखेका छन्, ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।’

गत भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको टिप्पणी उनको छ । भदौ २३ को आडमा भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको उनले उल्लेख गर्दै उनी लेख्छन्, ‘यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमश: सार्वजनिक हुँदैछ ।’

नयाँ शक्तिहरू एकीकृत हुँदै गर्दा एमाले महासचिव पोखरेलले पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनी लेख्छन्, ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।’

चर्चामा

सम्बन्धित समाचार