
बाजुरा– नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा ४० वर्षमुनि उमेर समूहबाट युवानेता नरेश रोकाया निर्विरोध निर्वाचित भएका छन। पार्टीको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रियामा रोकाया निर्विरोध चयन भएका हुन। युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका रोकाया लामो समयदेखि पार्टी संगठन निर्माण, जनसम्पर्क र युवालाई राजनीतिमा सक्रिय बनाउन निरन्तर क्रियाशील रहँदै आएका छन। उनको संगठनप्रतिको प्रतिबद्धता, कार्यकर्तामैत्री व्यवहार र वैचारिक स्पष्टताका कारण सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित हुन सफल भएको पार्टी स्रोतले जनाएको छ।
राजनीतिक यात्रामा रोकायाले विद्यार्थी राजनीतिदेखि विभिन्न जिम्मेवारीहरू सम्हाल्दै आएका छन्। जिल्लादेखि केन्द्रसम्म संगठनलाई बलियो बनाउन खेलेको भूमिकाको कदरस्वरूप उहाँलाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिइएको विश्लेषकहरूको भनाइ छ।
रोकायाको निर्विरोध चयनलाई पार्टीभित्र युवा नेतृत्वप्रतिको भरोसा र पुस्तान्तरणको संकेतका रूपमा हेरिएको छ। कार्यकर्ता पंक्तिले उहाँको सफल कार्यकालले पार्टीलाई अझ जनमुखी, गतिशील र सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।
