बिहिबार, मंसिर २६, २०८२
  • होमपेज
  • क्रिकेट
  • फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै विराटनगर र लुम्बिनी

फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै विराटनगर र लुम्बिनी

  • बिहिबार, मंसिर २६, २०८२
फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै विराटनगर र लुम्बिनी

काठमाडौं —सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा अब २ खेल अनि ३ टोली बाँकी छन् । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ । फाइनलमा पुग्ने अर्को टोलीको भने आज टुङ्गो लाग्दै छ ।

आज दोस्रो क्‍वालिफायर हुँदैछ जहाँ विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्नेछ भने पराजित हुने टोली तेस्रोमै सीमित हुनेछ ।

विराटनगर पहिलो क्‍वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो मौकामा खेल्दैछ । अर्कोतर्फ लुम्बिनीले भने बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्‍वालिफायरमा स्थान बनाएको हो ।

लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यस्तोमा लुम्बिनीले हारबाट पुनरागमन गर्ने सोचमा रहेको विराटनगरसँग खेल्दै छ । यो नकआउट खेलमा जसले दबाब झेल्न सक्छ उसैले जित्ने पक्का छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पनि त्यही भनाइ राखेका छन् ।

‘यो खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले गएरातिको खेलपछि भनेका थिए, ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन्, यस खेल महत्वपूर्ण हुनेछ।’

यस्तो छ पछिल्लो प्रदर्शन

विराटनगर यस प्रतियोगिताअघि नै स्टार विदेशी खेलाडी अनुबन्ध गरेर चर्चामा आएको टिम हो । गत संस्करणको खराब प्रदर्शन बिर्साउँदै प्लेअफ पनि पुगेको छ । तर विराटनगरको लय एकैनासको देखिएको छैन ।

सुरुवाती ३ खेल जितेपछि विराटनगरले ‘हार-जित-हार-जित-हार’ को नतिजा निकालेको छ । यीमध्ये पछिल्ला दुई खेलको जित र हार एउटै टोलीसँग थियो- सुदूरपश्चिम रोयल्स । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग एकपक्षीय जित निकालेको विराटनगर त्यसपछि त्यही टोलीसँग एकपक्षीय हार बेहोर्‍यो ।

यो यात्रामा विराटनगरको एउटै समस्या देखिएको छ, त्यहो हो मिडल अर्डर ब्याटिङ । टप अर्डर नचलेको अवस्थामा मिडल अर्डरले राम्रो गर्न सकिरहेका छन् । कर्णाली याक्ससँग बसिर अहमदको शानदार ब्याटिङबाहेक मध्यक्रम प्रभावकारी हुन सकेको छैन ।

टप अर्डरमा साम हिजलेट, फाफ डुप्लेसी र मार्टिन गप्टिल चलेको अवस्थामा राम्रो खेलेको विराटनगरले यी ३ बाट राम्रो योगदान नहुँदा जित निकाल्न कठिन हुने देखिएको छ । त्यसकारण यसमा काम गर्नुपर्ने देखिन्छ ।

बलिङमा भने विराटनगर ठीकठाक छ । राष्ट्रिय टोलीकै स्पीनर सन्दीप लामिछानेले बलिङको नेतृत्व गरेका छन् । उनले ८ खेलमा १५ विकेट लिँदै टोलीका लागि सर्वाधिक अनि एनपीएलमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनलाई मर्चेन्ट डे लाङ अनि अन्य पार्ट टाइमरले साथ दिइरहेका छन् ।

अर्कोतर्फ लुम्बिनीले लगातार चौथो जित निकालेर यहाँसम्म आइपुगेको छ । लिग चरणका अन्तिम ३ खेलमा लगातार जित निकालेको लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हरायो । लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ ।

लुम्बिनीका लागि नेपाली खेलाडीको प्रदर्शन अग्रणी भूमिकामा देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडी शीर्षमा छन्, त्यसमा विदेशी खेलाडीले साथ दिएका छन् ।

शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो-सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।

यही लय लिएर लुम्बिनीले अब २४ घण्टाभित्रै अर्को महत्वपूर्ण खेल खेल्दै छ ।

चर्चामा

सम्बन्धित समाचार