बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • क्रिकेट
  • विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

  • बुधबार, मंसिर २५, २०८२
विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, आज काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

काठमाडौं— सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

उनलाई अन्य ब्याटरले साथ दिन सकेनन् । साम हिजलेट ०, मार्टिन गुप्टिल २, नरेन भट्ट ०, बसिर अहमद १२, लोकेश बम ५, नारायण जोशी १, मार्चन्ट डि लिङ १५, कप्तान सन्दीप लामिछाने ३ र प्रतिश जिसी ३ रनमा आउट भए ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेन दुई-दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक-एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

पहिलोपटक प्लेअफमा पुगेका काठमान्डु र लुम्बिनी इलिमिनेटरमा खेल्दै

त्यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् ।
त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । किनभने यो नकआउट खेल हो जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।

अर्कोतर्फ विजयी हुने टोलीले पनि फाइनलमा स्थान भने बनाउने छैन । फाइनल पुग्नका लागि अर्को एक खुड्किलो पार गर्नुपर्ने हुन्छ, अर्थात् दोस्रो क्‍वालिफायरमा खेल्नुपर्ने हुन्छ ।

पहिलो क्‍वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई हराउँदै फाइनलमा पुगिसकेको छ । अब त्यही विराटनगरसँग यस इलिमिनेटर खेलको विजेताले भोलि खेल्नेछ ।

चर्चामा

सम्बन्धित समाचार