
बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि तथा विद्यालय व्यवस्थापन सुदृढीकरणका विषयमा केन्द्रित पालिका स्तरिय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिलबहादुर रावतकाे अध्यक्षतामा संचालन भएकाे कार्यशाला गाेष्ठीकाे विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिसुदेवी नाथ रहेकी थिईन।
शैक्षिक कार्यशाला गोष्ठीमा पालिकाका वडा अध्यक्ष, गाउँकार्यपालिका सदस्यहरू, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, पालिका भित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापक, बिव्यस अध्यक्ष, बालक्लव प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको खप्तड छेडेदह गाउँपालिकाकाे समन्वयमा गरिएकाे गाेष्ठीकाे आर्थिक तथा प्राविधिक सहयोग गुड नेभर इन्टरनेशनल नेपालले गरेकाे थियाे भने आयोजक पीसविन नेपाल रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिलीबहादुर रावतले गुणस्तरीय शिक्षा पालिकाको शीर्ष प्राथमिकता रहेको बताए । विद्यालयको भौतिक तथा शैक्षिक दुवै पक्ष सुधार्न गाउपालिका निरन्तर लागि परेकाे छ शैक्षिक सुधारका लागि सघ सस्था अन्य सराेकारवालाहरूले पनि हातेमालाे गरिदिन बताए । पालिकाकाे शैक्षिक सुधारमा शिक्षक, अभिभावक र स्थानीय सरकार तीनै पक्षको सहकार्य र जिम्मेवारी रहेकाे बताए । पालिका स्तरिय शैक्षिक कार्यशालागाेष्ठी खप्तड छेडेदह गाउपालिकाकाे शिक्षालाई व्यवहारिक रूपमा कसरी उकास्ने भन्ने दिशामा महत्वपूर्ण हुने बताए । याे कार्यशाला गाेष्ठीले पालिकाले बनाउन थालेकाे दस बर्षे शिक्षा नितिलाई समेत सहयाेग पुग्ने विश्वास ब्यक्त गरे ।
त्यस्तै, उपाध्यक्ष बिसुदेवी नाथले विद्यालयहरूमा सिकाइ वातावरण सुधार्न स्थानीय सरकार गम्भीर र प्रतिबद्ध रहेको बताइन्। बालमैत्री विद्यालय निर्माण गर्नु हाम्रो साझा लक्ष्य हो। अभिभावकको भूमिकालाई अझ सक्रिय बनाउन पालिकाले विविध कार्यक्रम अघि बढाउने उपाध्यक्ष नाथको भनाइ थियो।
गोष्ठीमा सहभागी विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले विद्यालयमा देखिने चुनौतीहरू समाधानका लागि यस्ता गोष्ठीले सकारात्मक प्रभाव पार्ने बताएका थिए। विद्यालयमा विद्यार्थीको उपस्थिति, सिकाइ उपलब्धि र अभिभावक संलग्नता बढाउन स्थानीय तहको साथ आवश्यक छ। गोष्ठीले योजनाबद्ध ढङ्गले अघि बढ्न मार्गदर्शन गरेको छ ।
यस्तै, देवस्थली माबिका प्रधानाध्यापक लालबहादुर शाहीले विद्यालयहरूमा प्राविधिक तथा सामग्रीगत सहयोग बढाउन पालिकाले निरन्तर ध्यान दिनुपर्ने बताएका थिए। शाहीले हामी शिक्षकहरूबाट पनि सिकाइ पद्धति आधुनिक बनाउन निरन्तर प्रयास भइरहेको छ। पालिकाबाट प्राप्त मार्गदर्शन र सहयोगले शैक्षिक क्रियाकलाप थप प्रभावकारी बन्नेछ ।
शैक्षिक कार्यशाला गोष्ठीको सहजीकरण तथा प्रशिक्षण विज्ञ मीनबहादुर शाहीले गरेका थिए। कार्यशाला प्रशिक्षक शाहीले विद्यालयमा सिकाइ सिकाउने सक्रिय विधि, बालमैत्री वातावरण निर्माण तथा विद्यालय समुदाय सहकार्यका विभिन्न विषयमा सहभागीहरूलाई अभिमुखीकरण गराएका थिए। कार्यक्रमको सञ्चालन पीसविन नेपालका एकीकृत सामुदायिक विकास परियोजना अधिकृत भान सिंह अएडीले गरेका थिए।
