
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन भएको छ । आइतवार खप्तड छेडेदह गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी बाजुरा सुरक्षित नेपाल परियोजना, उपहार नेपाल, महिला विकास मञ्ज बाजुराको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम गर्दै समापन गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विपद् जोखिम न्यूनीकरण र लैङ्गिक हिंसा रोकथाम सम्बन्धी देउडा तथा बालविवाह कु–संस्कार विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यस बर्ष “प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ” भन्ने मूल नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बर अर्थात मंसिर ९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

बृहत देउडा प्रतियोगितामा प्रत्येक वडाबाट एक–एक गरी ७ वटा महिलाहरुको टिमविच एक आपसमा प्रतिस्पर्धा गराइएको थियो भने वडा स्तरीय सडक नाटक देखाइएको गाउँपालिकाले जनाएको छ । लैङ्गिक हिंसा राकेथाम, विपद् जोखिम न्यूनीकरण तथा सामाजिक कुरिति कु–संस्कार विरुद्ध गीत बनाएर पालिका स्तरीय देउडा प्रतियोगिता र सडक नाटक प्रदर्शन गरेको थियो ।
देउडा प्रतियोगिताको निर्णायक समितिमा शिक्षक गणेश रावत, किस्ना पण्डित, नन्ना बहादुर साउँद रहेका थिए । त्यस्तै देउडा प्रतियोगितामा प्रथम वडा नम्बर ७, द्धितीय, ४, तृतीय ५ र सान्त्वना वडा नम्बर ३ भएको थियो । उत्कृष्ट स्थान हासिल गरेका ४ वटा टिमसहित अन्य सहभागी टिमलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सडक नाटकमा सहभागी किशोर किशोरीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

समाजमा पुरुषको तुलनामा महिलाहरुमाथि विभिन्न किसिमका हिंसा भइरहेको भन्दै सहेर नभई त्यसको प्रतिकार गर्न सक्ने आँट यस्ता कार्यक्रमबाट आउने गाउँपालिकाकी उपाध्यक्ष विशुदेवि नाथले विश्वास व्यक्त गरिन् । उनले कसैमाथि हिंसा भए जनप्रतिनिधि, न्यायिक समिति लगायत सरोकारवाला समक्ष खवर गर्न आग्रह गर्दै लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको पनि बताइन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले अहिले शारीरिक, मानसिक हिंसासँगै प्रविधिबाट पनि विभिन्न हिंसा भइरहेको भन्दै सामाजिक सञ्जालको सही सदुपयोग गर्नु पर्ने बताए । लैङ्गिक हिंसा, महिला हिंसा, बालविवाह जस्ता कु–संस्कार तथा कुरितिहरुको अन्त्य गर्न पालिकाले अभियानका रुपमा विविध गतिविधि गरिरहेको पनि अध्यक्ष रावतले बताए । यस्तै उनले रेडक्रसबाट सञ्चालित विपद् जोखिम न्यूनीकरणका गतिविधि हाल पालिकाका ३ वटा वडामा मात्रै सञ्चालनमा रहेकोले आगामी दिनमा अन्य वडामा पनि लागू गर्न रेडक्रससँग हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् ।
खप्तड छेडेदह गाउँपालिका स्तरीय महिला सञ्जालकी अध्यक्ष निर्मला देवि रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत रहेको थिए । यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण राज जोशी, वडा नम्बर २ का अध्यक्ष भक्त बुढा, ३ का अध्यक्ष विर्क रावत, ४ का अध्यक्ष दल बहादुर धामी, ५ का अध्यक्ष जीत रावत, कार्यपालिका सदस्य लगायत थिए भने अतिथिमा वडा सदस्य, नेपाल रेडक्रस सोसाइटी बाजुराका प्रतिनिधि, सुरक्षित नेपाल परियोजनाका कर्मचारी, पालिकाका विभिन्न शाखाका कर्मचारी, पत्रकार लगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रोजगार संयोजक लोकराज जोशीले गरेका हुन् ।






