शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह ३ को आधारभूत स्वास्थ्य केन्द्रमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या

खप्तड छेडेदह ३ को आधारभूत स्वास्थ्य केन्द्रमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या

  • शनिबार, मंसिर २१, २०८२
खप्तड छेडेदह ३ को आधारभूत स्वास्थ्य केन्द्रमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ स्थित पुडाबाउला आधारभूत स्वास्थ्य केन्द्रमा भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य केन्द्रको एउटै साघुँरो भवन हुँदा दैनिक बिरामी चेकजाँच सहित अन्य सेवा प्रवाहमा समस्या भएको हो ।

पुडाबाउला आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खम्म मिजारले स्वास्थ्य केन्द्रको एउटै भवन रहेको र त्यो पनि साघुँरो हुँदा सेवा प्रवाह गर्न समस्या भइरहेको बताएका छन् । उक्त स्वास्थ्य केन्द्रको भवनमा स्टोर, ओपीडी, डेलिभरी ओइटीङका लागि छुट्टा छुट्टै कोठा छैन् । इन्चार्ज मिजारले भने,“अहिले मुख्य समस्या डेलिभरी कोठा छ तर डेलिभरी पश्चात् २४ घण्टासम्म स्वास्थ्यमै राख्नु पर्ने हुन्छ तर हामीसँग त्यसका लागि ओइटीङ रुम छैन् ।” उनले ओइटीङ रुम नहुँदा डेलिभरी कोठामै अर्को बेड राखेर बसाउनु पर्ने बाध्यता रहेको बताएका छन् । त्यस्तै आधारभूत स्वास्थ्य केन्द्र इन्चार्ज मिजारले भवनसँगै कर्मचारीको पनि अभाव हुँदा सेवा प्रभावित भइरहेको बताएका छन् । हाल उक्त स्वास्थ्य केन्द्रमा स्वास्थ्य केन्द्र इन्चार्जसहित करारमा अनमी, सुईपर र कार्यालय सहयोगी गरी चार जना कर्मचारी कार्यरत छन् ।

खप्तड छेडेदह गाउँपालिका ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि अघिल्लो संघीय सरकारसँग माग गरेको तर वीचमा सरकार परिवर्तन हुँदा हालसम्म कुनै जानकारी नआएको बताएका छन् । उक्त स्वास्थ्यको भवन अघिल्लो कार्यालयको पालिका सरकारले निर्माण गरेर सेवा प्रवाह सुचारु गरेको थियो ।

पुडाबाउला आधारभूत स्वास्थ्य केन्द्र पालिकाको वडा नम्बर ३ को एउटै मात्र स्वास्थ्य संस्था हो । राष्ट्रिय जनगणना २०७८ अनुसार उक्त वडामा करिब ३ हजार जनसंख्या रहेको छ । उक्त स्वास्थ्य केन्द्रमा पालिकाले केही बर्षदेखि बर्थिङ सेन्टर समेत सुरु गरेपछि अनेक समस्याका विच पनि स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ । उक्त आधारभूत स्वास्थ्य केन्द्रमा चालू आर्थिक बर्षको हालसम्म ६ सय बढी बिरामीको उपचार गरिएको इन्चार्ज खम्म मिजारले बताएका छन् । यस्तै, सोही अवधिमा ८२ जना बच्चाको खोप, गाउँघर क्लिनिकबाट उपचार १ सय ७९, महिला स्वयम् सेविकाबाट सामान्य परामर्शसहित संस्थामा पठाएको ५ सय २५ र ६ जनाले सहज डेलिभरी सेवा लिएका छन् ।

सरकारले संघीय संरचनापछि साविकको गाविसमा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको थियो । खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ३ र ६ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् भने अन्य ५ वटा वडामा पर्याप्त दरबन्दी सहितका स्वास्थ्य चौकी छन् ।

चर्चामा

सम्बन्धित समाचार