शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • अपाङ्गता–मैत्री सेवा प्रवाह सुनिश्चित गर्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

अपाङ्गता–मैत्री सेवा प्रवाह सुनिश्चित गर्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

  • बुधबार, मंसिर १८, २०८२
अपाङ्गता–मैत्री सेवा प्रवाह सुनिश्चित गर्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

बाजुरा—३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२५ को अवसरमा जिल्लास्थित अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरू तथा विभिन्न सङ्घ–संस्थाहरूले जिल्ला प्रशासन कार्यालय, बाजुरा मार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको उक्त ज्ञापनपत्रमा जिल्लाका सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूलाई अपाङ्गता–मैत्री (पहुँचयुक्त) सेवा र संरचना बनाउन औपचारिक पत्राचार गरी तत्काल पहल गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालको संविधान धारा ४२, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ र अपाङ्गता–मैत्री भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै, जिल्लामा हालसम्म पनि धेरै कार्यालयमा र्याम्प, पहुँचयुक्त शौचालय, पिउने पानी, सूचना–सञ्चार पहुँच तथा सेवा सहजीकरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरू सेवाबाट वञ्चित हुनु परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सबै कार्यालयमा मापदण्डअनुसारका र्‍याम्प निर्माण तथा मर्मत । कार्यालयभित्र सेवा लिने स्थानसम्म पुग्न बाटो, शौचालय र पिउने पानीको पहुँच सुनिश्चितता नयाँ भवन निर्माणमा पहुँचयुक्त मापदण्ड अनिवार्य लगाएतका उल्लेख गरिएको छ । त्यस्तै सेवाग्राही केन्द्रहरूमा सांकेतिक भाषा दुभाषे उपलब्ध गराउने व्यवस्था वा वैकल्पिक दृश्य–लिखित सेवा प्रणालीको विकास दृष्टिविहीन व्यक्तिहरूका लागि ब्रेल, अडियो वा ठूलो अक्षरमा सूचना उपलब्ध गर्ने व्यवस्था गरिनु पर्ने माग उल्लेख गरिएको छ ।

सबै सार्वजनिक सेवा दिने कार्यालयमा विशेष सहायता डेस्क वा प्राथमिकताका साथ सेवा दिने व्यवस्था, कर्मचारीहरूलाई अपाङ्गता–समावेशी सेवा, सम्मानजनक व्यवहार र संवेदनशीलता सम्बन्धी तालिम अनिवार्य गरिनु भनिएको छ । ज्ञापनदाताहरूले मागहरूलाई केवल कागजमै सीमित नराखी, जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा तोकिएको समयसीमाभित्र सबै सम्बन्धित कार्यालयलाई कडा निर्देशनसहित पत्राचार गरी कार्यान्वयन गर्न आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले देखाएको मार्गप्रति सम्मान जनाउँदै अपाङ्गता भएका नागरिकको समानता, आत्मसम्मान र पहुँचको अधिकार सुनिश्चित गर्न जिल्ला प्रशासनबाट प्रभावकारी र परिणाममुखी कदमका अपेक्षा व्यक्त गरेका छन्।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा एचआरसी बाजुरा ह्यान्टिक्याप इन्टरनेशनल परियोजना संयोजक रमेश सुनार र युरोपयिन युनियन संयुक्त राष्ट सघं र सनसामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालका फिल्ड अफिसर रामदेवी थापाले सहकार्य र समन्वय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार