
बाजुरा– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अहिलेको समयमा “सामाजिक कुरीतिबिरुद्ध साझा प्रयासको आवश्यकता” रहेकाे बताएकी छन्। जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकाय, सुरक्षाकर्मी र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक कुरीतिबिरुद्ध साझा प्रयासको आवश्यकता बनेको बताएकी हुन। उनका अनुसार कानुन कमजोर बनेका कारण न्याय हराउँदै गएको र समाजमा अराजकता बढ्दै गएको बताइन।
कार्यक्रममा उनले नेपाली समाजमा अझै पनि छाउपडी प्रथा, बोक्सीको आरोप, बालविवाह, दाईजो, भ्रूण हत्या, जातीय छुवाछूत जस्ता परम्परागत कुरीति विद्यमान रहेको उल्लेख गरिन्। खतिवडाले भनिन्, “यी अभ्यास र विभेदका कारण हाम्रो समाज अझै पुरानै सोचमा बाँधिएको छ। महिलामाथि हुने हिंसा, शोषण र दमन अन्त्य गर्न राज्य र समाज दुबैको निरन्तर प्रयास जरुरी छ।”
बाजुराको दुर्गम क्षेत्र स्वामिकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटका महिलाहरुको समस्या समाधानका लागि आफूले माथिल्लो निकायमा समन्वय र पहल गर्ने प्रतिबद्धता पनि खतिवडाले जनाइन्। उनले भनिन्, “यहाँको अशिक्षा, भोकमरी, कुपोषण र महिलाको समस्या उठाएर समाधानतर्फ अघि बढ्न म प्रतिबद्ध छु। दुर्गमका महिलाका हकहितका सवालमा म कहिल्यै पछि हट्दिन।”
कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख, पत्रकार र सुरक्षाकर्मीले बाजुराका सामाजिक समस्या, कानुनी चुनौती र महिला अधिकारका विषयमा सवाल–जवाफ गरेका थिए। खतिवडाले सोही क्रममा महिला अधिकार, न्यायिक पहुँच, सुरक्षा चुनौती र समाधानका उपायबारे विस्तृत रूपमा धारणा राखेकी थिइन्।
