
बाजुरा– सशस्त्र द्धन्द्धकालमा प्रभावित भएका व्यक्तिहरुको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली बाजुरामा पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय कानुन महाशाखा प्रमुख श्यामबावु काफ्ले र आयाेगका सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावल सहितकाे प्रतिनिधि टाेली जिल्ला पुगेकाे हाे ।
शनिवार जिल्ला सदरमुकाम मार्तडीमा द्धन्द्ध पीडितहरुका समस्या, पुर्नःस्थापना तथा न्याय प्रक्रियाबारे जानकारीका लागि पीडित सहित सरोकारवालाहरुसँग छलफल गरेको छ ।
मानव अधिकार आयोगको टोलीले आयोजना कार्यक्रममा द्धन्द्धकालमा भएका घटना, पीडितहरुको हालको अवस्था तथा पुर्नःस्थापनाका बारेमा सहभागीहरुले भनाई राखेका थिए । सहभागी द्धन्द्ध पीडितहरुले हालसम्म पनि कुनै खोजखबर तथा पुर्नःस्थापना नभएको भन्दै राज्यले समेत वेवास्ता गरेको गुनासो गरेका छन् । त्यस्तै, अहिलेसम्म द्धन्द्ध पीडितहरुको एकिन तथ्यांक संकलन नभएको, आयोगले पनि उचित क्षतिपूर्ति र जीविकोपार्जनका सवालमा कुनै काम नभएको पीडितहरुले बताएका छन् ।
सरकारले संक्रमणकालीन न्यायका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता परिएका नागरिकको खोजबिन आयोग गठन गरे पनि जिल्लामा अहिलेसम्म द्धन्द्ध पीडितहरुको एकिन विवरण समेत कुनै निकायमा नभएको पीडितहरुको भनाई छ । कार्यक्रममा आयोगले अवस्था मात्रै बुझ्ने भन्दा पनि द्धन्द्ध पीडितहरुलाई न्याय र पुर्नःस्थापनाको आवश्यकता भएको भन्दा न्याय प्रक्रियामा सहयोग गर्ने तथा सरकारलाई पनि घच्घच्याउन माग गरेका छन ।
त्यस्तै, कार्यक्रममा बोल्दै मानव अधिकार आयोग सुदूरपश्चिम संयोजक झंकर रावलले द्धन्द्ध पीडितहरुको न्याय तथा पुर्नःस्थापनाका लागि आयोग सहित विभिन्न संयन्त्रमार्फत काम भइरहेको जानकारी गराएका छन् । द्धन्द्धबाट पीडितहरुको न्याय र जीविकोपार्जनको ग्यारेन्टीका लागि आयोगले काम गर्दै सरकारलाई सिफारिस गरे पनि न्यून मात्रामा सुनुवाई भएको उनले बताए ।
