
राखमाथिको स्मृति — बाम्काको आत्मा
बाम्काको गल्लीहरू आज पनि बोल्छन्
धुवाँले छोपिएको त्यो साँझ, कराउँदा पसलहरू, र आगोभित्र हराउँदै गएका सपनाहरूको कथा सुनाउँछन्।
कहिले काळो धुवाँजस्तै पीडा फैलिन्छ मनभरिको आकाशमा,
कहिले झल्किन्छ ती पुराना बाल्यकालका क्षणहरू चिया पसलको तातो कपमा, रेडियोका पुराना गीतमा,
र हावासँगै गुम्सिन्छ “घर” भन्ने अनुभूति।
बाम्का त केवल बजार थिएन त्यो भावना थियो, त्यो बास थियो, त्यो आत्मा थियो।
त्यो माटोमा पसिनाको गन्ध थियो, आमाको सासको तातोपन थियो,
त्यो गल्लीहरूमा हरेक कदमसँग जोडिएको एउटा कथा थियो।
तर एक दिन समयले निर्दय भएर ती सबै पाना जलायो।
धुवाँले जब आकाश ढाक्यो,
त्यो केवल पसलहरू जलेका थिएनन्,
स्मृतिहरू पनि खरानी भएका थिए।
कसैले आफ्नो घर गुमायो, कसैले आफ्नो जीवनको केन्द्र,
तर सबैले गुमाए आफ्नो एक टुक्रा आत्मा।
तर राखमाथिबाट पनि जीवन उम्रन्छ,
राखमाथिबाटै आशा फुल्छ।
त्यो आशा नै हो जसले मलाई लेख्न सिकायो,
त्यो आत्मा नै हो जसले भन्यो
“म यहाँ छु, मेरो स्वर सुन, मलाई फेरि लेख।”
त्यो स्वरसँगै म फेरि बाम्कातिर फर्कन्छु।
त्यो सडक, त्यो भित्ते लेख, त्यो रेडियो सबै सम्झिन्छु।
साँझपख पसलहरू बन्द हुने बेलाको त्यो आवाज आज पनि कानमा बज्छ।
बजारको धुलोमा मैले मेरो बाल्यकाल देख्छु,
र मन भन्छ “बाम्का अझै बाँच्छ।”
किनभने बजार जले पनि सम्झना जल्दैन।
पसलहरू खरानी भए पनि माया खरानी हुँदैन।
बाम्का अझै हाम्रो मनमा धड्किरहेको छ
हामी हरेक श्वासमा बाम्का बोल्छौं,
र बाम्का पनि हामीभित्र बाँचिरहेको छ।
